काठमाडौं- सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न चालु आर्थिक वर्षमा २०० नयाँ टेलिफोन टावर निर्माण गर्ने भएको छ। त्यस्तै, देशका १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने भएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र दूरसञ्चार सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको जानकारी दिए।
उनका अनुसार नेपाल टेलिकमका २०० नयाँ टावर निर्माणका लागि बोलपत्र मूल्याङ्कनको चरणमा पुगेको छ। यस्तै, १ हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्न बोलपत्र यसै साता प्रकाशन गर्ने तयारी भइरहेको छ।
विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित हुन नदिन टावरको पावर ब्याकअप क्षमता बढाउने कामसमेत भइरहेको मन्त्री तिमिल्सिनाले बताए। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको जानकारी दिँदै उनले ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको बताए।
हाल करिब ५ सय ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गर्ने लक्ष्य रहेको उनले बताए। थप २०० ब्याट्री खरिदका लागि पनि बोलपत्र प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै, ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम अघि बढाइएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। राष्ट्रिय प्रसारण प्रणाली नपुगेका क्षेत्रमा रहेका सोलार साइटमा ब्याट्री तथा उपकरण चोरी र टावरमा भौतिक क्षति हुने गरेको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने बताए।
भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो। तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
ती तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए। टिमुरेको टावरमा हेलिकप्टरमार्फत सोलार जडान गरी सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
रसुवा, नुवाकोट र धादिङमा रहेको ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७।९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएको थियो। त्यसमध्ये २७.४ किलोमिटर फाइबर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
रसुवा र नुवाकोटका तीन ओएलटी पूर्ण रूपमा क्षतिग्रस्त भए पनि अधिकांश उपकरण पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उनले बताए। टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त फाइबर तथा माइक्रोवेभमध्ये हाल फाइबरको विकल्पमा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको उनले जानकारी दिए।
प्रतिक्रिया