राप्रपा लुम्बिनी अध्यक्षमा रायमाझीको दाबी

मंगलबार, २० असोज २०८३, ०९ : ०७

दाङ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता ध्रुवबहादुर रायमाझीले लुम्बिनी प्रदेश अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी असोज २१ गतेदेखि सुरु हुने पार्टीको दोस्रो लुम्बिनी प्रदेश अधिवेशनलाई लक्षित गर्दै रायमाझीले प्रदेश नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

पार्टीको स्थापनाकालदेखि सक्रिय रहँदै आएका रायमाझीले लामो राजनीतिक अनुभव र संगठनमा निर्वाह गरेका विभिन्न जिम्मेवारीलाई आधार बनाएर अध्यक्ष पदमा अघि बढ्ने निर्णय गरेको बताएका छन्। प्रदेशमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।

रायमाझीले आफू पार्टीको स्थापनाकालदेखी राजनीतिमा सक्रिय रहेको बताएका छन्। राजनीतिक यात्राका क्रममा उनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा प्रवक्ता, उपाध्यक्ष, केन्द्रीय संयोजक हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। विद्यार्थी संगठनबाट पार्टीको मूल राजनीतिमा आएका उनले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनमा समेत जिम्मेवारी निर्वाह गरेका छन्।

त्यसपछि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालेका रायमाझीले संगठन विस्तार र कार्यकर्ता परिचालनमा लामो समयदेखि काम गर्दै आएको बताएका छन्। पार्टीले दिएको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्दै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको उनको दाबी छ।

प्रदेश अध्यक्षमा उम्मेदवारी दिने निर्णय व्यक्तिगत आकांक्षाभन्दा पनि संगठनको आवश्यकता र पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको आग्रहका आधारमा भएको रायमाझीले बताएका छन्।

“लामो समयदेखि पार्टी र संगठनमा काम गरेको अनुभव तथा लुम्बिनी प्रदेशका पार्टी समर्थक र शुभेच्छुकको आग्रहलाई ध्यानमा राखेर अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ”, उनले भनेका छन्।

लुम्बिनी प्रदेशमा राप्रपाको संगठनलाई थप बलियो बनाउने विषयलाई उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्। प्रदेशका सबै जिल्लामा संगठन विस्तार गर्ने, स्थानीय तहसम्म पार्टीको पहुँच बढाउने र कार्यकर्तालाई सक्रिय बनाउने योजनासहित आफू नेतृत्वको प्रतिस्पर्धामा आएको उनले बताएका छन्।

रायमाझीले पार्टीका विचार, सिद्धान्त र राजनीतिक एजेन्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउन प्रदेश संगठनलाई चलायमान बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार पार्टीको संगठन बलियो नभएसम्म राजनीतिक प्रभाव विस्तार गर्न कठिन हुने भएकाले संगठन निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेछ।

उनले प्रदेशभित्रका पार्टी कमिटीबीच प्रभावकारी समन्वय कायम गर्ने, कार्यकर्ताको क्षमता विकास गर्ने तथा पार्टी गतिविधिलाई नियमित र परिणाममुखी बनाउने विषयलाई समेत प्राथमिकता दिने बताएका छन्।

रायमाझीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ राप्रपाको उम्मेदवार बनेर प्रतिस्पर्धा गरेका थिए। निर्वाचनमा उम्मेदवार बनेपछि पनि पार्टीका गतिविधिमा निरन्तर सक्रिय रहेको उनले बताएका छन्।

प्रदेश अध्यक्षको उम्मेदवारी घोषणासँगै राप्रपा लुम्बिनीमा आगामी नेतृत्व चयनको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। अधिवेशनबाट प्रदेशको नयाँ नेतृत्व चयन हुने भएकाले अध्यक्षका आकांक्षीहरूबीच आन्तरिक तयारी र प्रतिनिधिसँगको सम्पर्क तीव्र हुने देखिएको छ।

रायमाझीले आफ्नो उम्मेदवारीलाई संगठनको पुनर्संरचना र राजनीतिक प्रभाव विस्तारसँग जोडेर अघि सारेका छन्। उनले प्रदेशमा पार्टीलाई केवल निर्वाचनका बेला सक्रिय हुने संगठनका रूपमा नभई निरन्तर जनतासँग जोडिएको राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

“पार्टीको विचार र एजेन्डालाई जनताको बीचमा स्थापित गर्दै संगठनलाई बलियो र प्रभावकारी बनाउनु अहिलेको आवश्यकता हो,” रायमाझीको भनाइ छ।

उनले लुम्बिनी प्रदेशमा राप्रपाको राजनीतिक उपस्थिति विस्तार गर्न पार्टीभित्र एकता, अनुशासन र सक्रियता आवश्यक रहेको बताएका छन्। प्रदेशका नेता तथा कार्यकर्ताबीच समन्वय बढाएर संगठनलाई गतिशील बनाउने उनको प्रतिबद्धता छ।

रायमाझीले प्रदेश अध्यक्षका लागि आफ्नो उम्मेदवारीलाई समर्थन गर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकसँग आग्रह गरेका छन्। आफ्नो राजनीतिक अनुभव, संगठनमा गरेको काम र प्रदेशका कार्यकर्तासँगको सम्बन्धलाई आधार बनाएर आफू नेतृत्वको दौडमा आएको उनको भनाइ छ।

आगामी असोज २१ गतेदेखि हुने राप्रपा लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। रायमाझीको उम्मेदवारी घोषणाले प्रदेश नेतृत्वको प्रतिस्पर्धालाई थप औपचारिक बनाएको छ।
 

मंगलबार, २० असोज २०८३, ०९ : ०७

प्रतिक्रिया