काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुनेछ।
कार्यतालिकाअनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। साँझ ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबीविरोध गर्न सकिनेछ भने ६ः३० देखि ७ः३० बजेसम्म दाबीविरोधमाथि जाँचबुझ हुनेछ। राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध, ५ः३० देखि ६ः३० बजेसम्म दाबीविरोधमाथि जाँचबुझ र साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारहरूले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि काठमाडौंमा तीन स्थान तोकिएका छन्।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्नेले मतदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। मतदान सकिएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया