काठमाडौं- काठमाडौं जिल्ला अदालतले विभिन्न मुद्दामा १२ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ। यसअघि अदालतबाट जारी भएको पक्राउ पुर्जीअनुसार पक्राउ परी अदालतमा हाजिर नभएका तथा घरठेगाना फेला नपरेका व्यक्तिका नाममा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।
अदालतका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा ज्ञानश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष युवराज घले तथा अष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति र लेखा समितिमा रहेका पदाधिकारीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
अष्ट बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा सञ्चालक समिति सदस्य प्रकाश खड्का, लेखा समिति सदस्य सुवास बुढाथोकी र बविता खड्का, सञ्चालक समिति अध्यक्ष अनिल खड्का, उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, संस्थाका सदस्य सुशिल विक्रम राणा, सञ्चालक समिति सदस्य शुशिला बोहरा तथा लेखा समिति संयोजक गोविन्द बुढाथोकीविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।
प्रतिक्रिया