कांग्रेसको १५औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक, प्रतिनिधि ७ हजार ११४

मंगलबार, २० असोज २०८३, १० : १२

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अन्तिम नामावली प्रकाशनसँगै निर्वाचनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या ७ हजार ११४ पुगेको छ ।

निर्वाचन समितिका अनुसार आज बिहान ९ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोधको समय तोकिएको छ । त्यसपछि ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधउपर जाँचबुझ गरी ११ः३० बजे मतदाताको अन्तिम नामावली पुनः प्रकाशन गरिनेछ ।

आजै उम्मेदवार मनोनयन दर्ता फारम वितरण गरिनेछ भने दिउँसो १२ः३० देखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।

सोमबारको बन्दसत्रले कांग्रेसको विधान संशोधन गर्दै २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको व्यवस्था गरेको छ । संशोधित विधानअनुसार नै नयाँ कार्यसमितिका लागि निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ ।

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिलाई सहज बनाउन बन्दसत्र र निर्वाचनस्थलमा स्वयंसेवक परिचालन गरिएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि देश तथा विदेशबाट करिब ७ हजार ५०० प्रतिनिधि काठमाडौं आएका छन् । आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन् ।

मंगलबार, २० असोज २०८३, १० : १२

प्रतिक्रिया