चिनियाँ नागरिकद्वारा गैर कानुनी रुपमा व्यवसाय संचालन

मंगलबार, २० असोज २०८३, १५ : २९

काठमाडौं - विराटनगरमा  चिनियाँ नागरिकले  गैर कानुनी रुपमा व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । विराटनगर महानगरपालिका–२ मा नेपाली नागरिकको नाममा दर्ता भएको एक फर्म चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको थाहा हुन आएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका अनुसार ‘एभरपिक सप्लायर्स’ नामक फर्म चिनियाँ नागरिक लिजोसिज्याकले सञ्चालन गर्दै आएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । उक्त फर्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ कि राधिका बस्नेत कार्कीका नाममा दर्ता रहेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र आन्तरिक राजस्व कार्यालयसहितको संयुक्त टोलीले विराटनगर बजारमा अनुगमनका क्रममा नेपालीको नाममा चिनियाँ नागरिकले व्यवसाय संचालन गरेको भेटेको थियो । अनुगमन टोलीले फर्ममा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद बिल, खरिद स्रोत र कारोबारसम्बन्धी कागजात मागेको थियो । सो क्रममा विदेशी नागरिकबाट भिसाको सर्तविपरीत चिनियाँ नागरिकले व्यापार गरिरहेको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेश कुमार झाले बताए । भिसाको सर्तविपरीत व्यापारमा संलग्न रहेको पाइएपछि प्रहरीले लिजोसिज्याकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको छ ।

अनुगमनका क्रममा उनको साथमा सक्कल राहदानीसमेत फेला नपरेको घट्ना बाहिरीएको थियो । यी पछिल्ला घटनाले नेपाली नागरिकका नाममा दर्ता भएका व्यवसायमा वास्तविक लगानीकर्ता र सञ्चालक विदेशीनागरिक भए–नभएको विषयमा प्रशासन कार्यालयले विशेष चासो बढाउनुुपर्नेमा स्थानिय व्यवसायीले जोड दिएका छन् ।

मंगलबार, २० असोज २०८३, १५ : २९

प्रतिक्रिया