अपडेट

दसैँका लागि अग्रिम बस टिकट असोज २३ देखि खुल्ने

मंगलबार, २० असोज २०८३, १३ : ३९

काठमाडौं- दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायको उच्चस्तरीय बैठकले चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको सहभागिता थियो । अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीका अनुसार यस वर्ष दसैँमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ ।

बैठकले लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्ने निर्णय गरेको छ । टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र पोसाक अनिवार्य लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्नेविरुद्ध कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ ।

यात्रुको सुरक्षा र राजमार्गमा हुने अवरोध तथा दुर्घटनाको तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्रसमेत सञ्चालनमा ल्याइने भएको छ । यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।

बसपार्क तथा टिकट काउन्टरमा हुने यात्रुको चाप व्यवस्थापनका लागि सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गरिने भएको छ ।

मंगलबार, २० असोज २०८३, १३ : ३९

प्रतिक्रिया