काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।
भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशीमा गएको बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे । उनले बाढीबाट प्रभावित समुदायको अवस्था र पुनःस्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरे ।
सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी गराउँदै मन्त्री बादीले प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरे ।
भेटमा मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिए । मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उनले बताए ।
भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमासमेत विस्तृत छलफल भएको थियो ।
प्रतिक्रिया