काठमाडौं– बडादसैँ सुरु भएसँगै रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौँ उपत्यकामा बस्दै आएका नागरिकहरू आफ्नो थातथलो फर्किन थालेका छन्। दसैँ मनाउन घर जाने यात्रुहरूको चाप बढेसँगै काठमाडौँका बसपार्कहरूमा भीड बढ्न थालेको छ।
तर, यस वर्षको दसैँ यात्रा विगतका वर्षहरूजस्तो सहज छैन। हालैको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुर्याउँदा यात्रुहरूले जोखिमपूर्ण सडकबाट यात्रा गर्नुपर्ने अवस्था छ।
काठमाडौँबाट बाहिरिने मुख्य नाकाहरू खुला रहे पनि गन्तव्यसम्म पुग्ने कतिपय सडकखण्ड अझै अवरुद्ध वा एकतर्फी रूपमा सञ्चालनमा छन्। सडक विभाग, यातायात व्यवसायी र प्रहरीको विवरणअनुसार उपत्यकाबाट यात्रा सुरु गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्नु यात्रुका लागि आवश्यक देखिएको छ।
नेपाल प्रहरीका अनुसार बाढीपहिरोका कारण विभिन्न जिल्लाका मुख्य सडकहरू प्रभावित छन्। गण्डकी प्रदेशको गोरखामा सडक पूर्ण रूपमा अवरुद्ध छ। आरुघाटबाट धादिङ जोड्ने सडकअन्तर्गत सोतीमा रहेको फलामे पुल बाढीले बगाएपछि उक्त सडकमा आवागमन ठप्प भएको छ।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा छ। नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत जन्ती पहिरो क्षेत्र र मनाङको बेँसीसहर–खाङ्सार सडकखण्डमा पनि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
प्रहरीका अनुसार यी सडकमा साना सवारीसाधन सञ्चालन भए पनि ठूला गाडी तथा बसलाई आवतजावत गर्न कठिन छ। यसले गर्दा लामो दूरीका यात्रुहरू बीच बाटोमै रोकिनुपर्ने, सवारीसाधन परिवर्तन गर्नुपर्ने वा पैदल हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ।
चीनसँगका प्रमुख व्यापारिक नाका जोड्ने सडकहरूको अवस्था पनि चिन्ताजनक छ। कालीगण्डकी नदीको कटानबाट क्षतिग्रस्त बेनी–जोमसोम सडकमा अस्थायी मार्ग खोलिए पनि सडक साँघुरो र हिलाम्मे छ। यसले सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ।
कोरला नाकाबाट आएका करिब पाँच सय मालवाहक कन्टेनर तथा ट्रक गन्तव्यमा पुग्न नसकी बाटोमै रोकिएका छन्। दसैँका लागि ल्याइएका फलफूल तथा खाद्यान्नसमेत लामो समयदेखि रोकिँदा कुहिने जोखिम बढेको छ। सडक पूर्ण रूपमा मर्मत नभइसकेको अवस्थामा जथाभावी सवारीसाधन चलाउँदा गाडी हिलोमा फस्ने समस्या पनि बढेको छ।
उता, रसुवागढी नाका जोड्ने सडकको अवस्था पनि उस्तै छ। सडक विभागका अनुसार बाढीपहिरोले करिब ४० किलोमिटर सडक बगाएको छ। नुवाकोटको ढुंगे बजारदेखि बेत्रावतीसम्म सडकको ट्र्याक खुले पनि स्याफ्रुबेँसीदेखि टिमुरेसम्मको १६ किलोमिटर सडक भोटेकोशी नदीले बगाएको छ।
बेत्रावती र स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण गर्ने तयारी भइरहेको भए पनि रसुवागढीसम्म सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही महिना लाग्ने देखिएको छ।
यसरी दसैँमा घर फर्किने यात्रुका लागि मुख्य चुनौती गन्तव्यसम्म पुग्ने सडकको अवस्थासँग जोडिएको छ। बाढीपहिरो प्रभावित सडकमा यात्रा गर्दा जोखिम बढ्न सक्ने भएकाले यात्रुले प्रस्थान गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न, सम्भव भएसम्म वैकल्पिक मार्गको जानकारी लिन र जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्नु उचित हुन्छ।
प्रतिक्रिया