काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री तथा उठेका प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उक्त विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।
छानबिन प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ।
त्यस्तै, राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।

प्रतिक्रिया