हिमपातले रोकिएका ५०० बढी गाडी निकालिँदै, ग्राहकले कहिले पाउँछन् डेलिभरी ?

सोमबार, ३० कार्तिक २०८३, १५ : ५२

काठमाडौं- दुई सातादेखि नेपाल–चीन सीमास्थित कोरला नाकामा हिमपातका कारण रोकिएका विद्युतीय सवारीसाधन नेपाल भित्र्याउन थालिएको छ । बाक्लो हिउँका कारण सीमाक्षेत्रमै अलपत्र परेका ५०० भन्दा बढी कार तथा माइक्रोबसलाई हिउँ पन्छाएर मुस्ताङतर्फ ल्याउन सुरु गरिएको हो ।

गत कात्तिक १३ गतेदेखि परेको भारी हिमपातका कारण कोरला नाकामा चीनबाट आयात गरिएका सवारीसाधन रोकिएका थिए । सीमा क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जम्दा सयौं गाडी हिउँले पुरिएका थिए । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, कालीगण्डकी करिडोर आयोजना तथा चिनियाँ भन्सारको समन्वयमा आजदेखि डोजर लगाएर हिउँ हटाउन थालिएको छ ।

हिउँ पन्छाएसँगै रोकिएका गाडीलाई नेपालतर्फको भन्सार कार्यालयसम्म ल्याउने काम भइरहेको छ । कोरला चउरमा हिउँमा फसेका कतिपय गाडीलाई अन्य सवारीसाधनको सहायताले तानेर सडकसम्म ल्याइएको छ । यसरी निकालिएका गाडीलाई भन्सार जाँचपासका लागि पठाउन थालिएको छ ।

चिनियाँ सीमा नाका कोरलादेखि मुस्ताङ भन्सार कार्यालय करिब १४ किलोमिटर तल रहेको छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिनाका अनुसार सीमाक्षेत्रमा हिउँ जमेर सवारी आवागमन प्रभावित भए पनि भन्सार कार्यालय र यार्डमा भने कुनै समस्या छैन । भन्सारसम्म आइपुगेका गाडीको जाँचपास नियमित रूपमा भइरहेको उनले बताए ।

WhatsApp-Image-2026-11-16-at-14.30.49

‘चीनबाट आयात गरिएका गाडी हिमपातका कारण सीमाक्षेत्रमै रोकिएका थिए । जिल्ला प्रशासन, चिनियाँ भन्सारलगायतको सहयोगमा आजदेखि हिउँ पन्छाएर ल्याउन थालिएको छ,’ उनले भने, ‘सीमा क्षेत्रमा हिउँ जमेको भए पनि भन्सार यार्ड र कार्यालयमा कुनै अवरोध छैन । आएका गाडी धमाधम जाँचपास भइरहेका छन् ।’

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द भएपछि व्यवसायीले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् । तर, पछिल्लो समय प्राकृतिक विपत्ति र प्रतिकूल मौसमका कारण यस नाकाबाट हुने सवारी आयातसमेत प्रभावित हुँदै आएको छ ।

यसअघि गत असोज दोस्रो साताको बाढीपहिरोले कालीगण्डकी करिडोरमा क्षति पुर्‍याउँदा करिब दुई साता सडक अवरुद्ध भएको थियो । त्यसका कारण दसैंअघि ग्राहकलाई गाडी हस्तान्तरण गर्ने तयारीमा रहेका दुई हजारभन्दा बढी सवारीसाधन मुस्ताङमै रोकिएका थिए । सडक सञ्चालनमा आएपछि ती गाडी क्रमशः नेपाल भित्र्याएर ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ । असोज अन्तिम सातादेखि सडक खुले पनि अहिले हिमपातले पुनः आयात प्रभावित बनाएको हो ।

WhatsApp-Image-2026-11-16-at-14.30.33

कोरला नाका हुँदै असोज महिनामा मात्रै तीन हजार एक सय युनिट सवारीसाधन आयात भएका थिए । यस नाकाबाट बीवाईडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल र स्काइवेललगायत ब्रान्डका विद्युतीय सवारीसाधन नेपाल भित्रिँदै आएका छन् ।

सीमाक्षेत्रमा रोकिएका गाडी नेपालतर्फ आउन थालेसँगै प्रतीक्षामा रहेका ग्राहकले अब चाँडै सवारीसाधनको डेलिभरी पाउने अपेक्षा गरिएको छ । व्यवसायीले पनि बाँकी गाडी जतिसक्दो छिटो भन्सार जाँचपास गराएर ग्राहकलाई हस्तान्तरण गर्ने तयारी गरेका छन् ।

सोमबार, ३० कार्तिक २०८३, १५ : ५२

प्रतिक्रिया