रोयल इनफिल्डको नयाँ इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्लिया एस ६’ सार्वजनिक, यस्तो छ विशेषता

बुधबार, ०२ मंसिर २०८३, ०९ : ३४

काठमाडौं- रोयल इनफिल्डले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल ‘फ्लाइङ फ्लिया एस ६’ सार्वजनिक गरेको छ। इटालीमा आयोजित इक्मा अटो शो २०२६ मा कम्पनीले पहिलोपटक यो मोटरसाइकल आधिकारिक रूपमा प्रदर्शन गरेको हो।

स्क्र्याम्बलर डिजाइनमा तयार पारिएको फ्लाइङ फ्लिया एस ६ भारतमा निर्माण भएको रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोडल हो। कम्पनीले यसलाई आगामी वर्षको सुरुदेखि बजारमा बिक्रीका लागि उपलब्ध गराउने तयारी गरेको छ।

यो मोटरसाइकलमा कम्पनीले यसअघि विकास गरेको सी ६ मोडलको हलुका संरचना प्रयोग गरेको छ। यद्यपि, एस ६ लाई खराब सडक, कच्ची बाटो तथा ट्रेल राइडिङका लागि थप उपयुक्त हुने गरी तयार पारिएको छ। यो डार्ट यल्लो र लाइटनिङ ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ।

यसमा अगाडि ठूलो र पछाडि तुलनात्मक रूपमा सानो वायर स्पोक ह्विल, ब्लक प्याटर्न टायर, गोल्ड फिनिसको अपसाइड डाउन फ्रन्ट फोर्क, अग्लो फ्रन्ट मडगार्ड तथा लामो इन्ड्युरो शैलीको सिट दिइएको छ। निलो फ्रेम, बीच भागमा रहेको ब्याट्री र तल्लो भागमा जडान गरिएको इलेक्ट्रिक मोटर यसको थप आकर्षण हुन्। यसमा चेन ड्राइभ प्रणाली प्रयोग गरिएको छ।

कम्पनीले आधिकारिक रूपमा इन्जिन तथा ब्याट्रीको विवरण सार्वजनिक नगरे पनि एस ६ मा सी ६ मा प्रयोग गरिएको जस्तै ३।९१ किलोवाट आवरको ब्याट्री प्याक र १५।४ किलोवाट क्षमताको मोटर रहने अनुमान गरिएको छ। उक्त मोटरले ६० एनएम टर्क उत्पादन गर्ने अपेक्षा छ। एकपटक पूर्ण चार्ज गर्दा यसले १५४ किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ।

मोटरसाइकलमा गोलाकार कलर टचस्क्रिन डिस्प्ले दिइएको छ। यसमा रोयल इनफिल्डको फ्ल्यिावेर ओएस अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। डिस्प्लेमार्फत गति, ब्याट्रीको अवस्था, बाँकी रेन्जलगायत राइडिङसम्बन्धी विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ।

फ्लाइङ फ्लिया एस ६ मा विभिन्न राइडिङ मोडसँगै विशेष अफरोड मोडसमेत उपलब्ध हुनेछ। कच्ची तथा अप्ठ्यारा सडकमा सहज राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यले तयार पारिएको यस मोडमा विभिन्न इलेक्ट्रोनिक राइडर एड्स पनि समावेश गरिने कम्पनीले जनाएको छ।

गोलाकार हेडलाइट, अग्लो मिरर, अपराइट ह्यान्डलबार, खुला सबफ्रेम र न्यूनतम बडीवर्कले मोटरसाइकललाई आकर्षक स्क्र्याम्बलर लुक दिएको छ। हलुका संरचना, उच्च टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटर र अफरोड राइडिङ सुविधाका कारण फ्लाइङ फ्लिया एस ६ रोयल इनफिल्डको फरक पहिचान बोकेको इलेक्ट्रिक मोटरसाइकलका रूपमा आएको छ।

बुधबार, ०२ मंसिर २०८३, ०९ : ३४

प्रतिक्रिया