काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको हो ।
बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
शुक्रबार ३५२ वटा धितोपत्रका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबारमा आएका कम्पनीमध्ये ८९ वटाको मूल्य बढ्दा १८१ वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यस दिन दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ५.१४ प्रतिशतले बढेर प्रतिकित्ता ३२७ रुपैयाँ पुगेको छ । भूगोल इनर्जीको मूल्य पनि ४.२६ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ३०६ रुपैयाँ कायम भएको छ ।
यता मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाइ मूल्य सर्वाधिक ८.५० प्रतिशतले घटेर ९ रुपैयाँ १५ पैसामा झरेको छ । त्यस्तै, पाल्पा सिमेन्टको सेयर मूल्य ६.५५ प्रतिशतले घटेर प्रतिकित्ता ५४२ रुपैयाँ कायम भएको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको प्रतिकित्ता २७० रुपैयाँ ४० पैसाका दरले २० करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त मूल्य अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशत बढी हो ।
त्यस्तै, लक्ष्मी सनराइज बैंक दोस्रो स्थानमा रहेको छ । बैंकको प्रतिकित्ता २७९ रुपैयाँ ५० पैसाका दरले १४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
शुक्रबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूह मात्रै बढेका छन् । बाँकी ११ समूहमा गिरावट आएको छ । यस दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया