एडिलेडमा एनटीसीए डबल्स टेनिस प्रतियोगिता सम्पन्न, भेष थापा र राजु केसीको जोडी विजेता

आइतबार, ०६ मंसिर २०८३, १० : ५९

काठमाडौं- दक्षिण अस्ट्रेलियाको एडिलेडमा नेपाली समुदायबीच खेलकुदको विकास, आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘डबल्स टेनिस प्रतियोगिता २०२६’ सम्पन्न भएको छ। नेप्लिज टेनिस क्लब अस्ट्रेलिया ९ल्त्ऋब्० को आयोजनामा नोभेम्बर १७, मंगलबार एडिलेडस्थित सीक्लिफ टेनिस क्लबमा प्रतियोगिता सञ्चालन गरिएको हो।

लोन सोलुसन्सको मुख्य प्रायोजनमा बिहान ८ बजेदेखि सुरु भएको प्रतियोगितामा कुल १९ डबल्स जोडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता इमर्जिङ र एडभान्स गरी दुई विधामा विभाजन गरिएको थियो। इमर्जिङतर्फ ६ जोडी र एडभान्सतर्फ १३ जोडी सहभागी थिए। इमर्जिङ विधातर्फ सुमन अधिकारी र बिलोम तामाङको जोडीले उपाधि जित्दा मञ्जिल सुवाल र युवराज थापाको जोडी उपविजेता बनेको छ। यस विधामा विजय भट्टराई र विवेक बास्ताकोटीको जोडीले फेयर प्ले अवार्ड प्राप्त गरेको छ।

एडभान्स विधातर्फ भेष थापा र राजु केसीको जोडी च्याम्पियन बनेको छ भने मोहन श्रेष्ठ र सौरभ बिडारीको जोडी उपविजेता बनेको छ। त्यस्तै, उमेश बुढाथोकी र दिलीप तामाङको जोडीले फेयर प्ले अवार्ड हात पारेको छ।

प्रतियोगितासँगै आयोजना गरिएको ‘वान पोइन्ट सिंगल स्लाम’ प्रतिस्पर्धामा ३८ खेलाडीले सहभागिता जनाएका थिए। उक्त प्रतिस्पर्धाको उपाधि राजु केसीले जितेका छन्। यससँगै केसीले डबल्सको एडभान्स विधा र सिंगल स्लाम दुवैमा सफलता हासिल गरेका छन्।

916368496_29864814099781688_5489442865872510606_n

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई मुख्य प्रायोजक लोन सोलुसन्सका अशोक एसी तथा क्लबका प्रतिनिधि नवीन कँडेल, सुरेन्द्र रेग्मी, राजु केसी, बल्लु भण्डारी र भेष थापाले पुरस्कार वितरण गरेका थिए।कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा क्लबका कार्यकारी पदाधिकारीसहित रेशम गुरुङ, सुदीप गुरुङ र उमेश बुढाथोकीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आयोजकले खेलाडी तथा दर्शकहरूका लागि खाजा र जलपानको समेत व्यवस्था गरेको थियो।

क्लबका अध्यक्ष दीपेन्द्र गुरुङले प्रतियोगितामा सहभागी खेलाडी, प्रायोजक, व्यवस्थापन टोली तथा उपस्थित खेलप्रेमीहरूप्रति आभार व्यक्त गरेका छन्। नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध बनाउने र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता प्रतियोगितालाई निरन्तरता दिने आयोजकको लक्ष्य रहेको छ।

यसैबीच, प्रतियोगिता सम्पन्न भएको सीक्लिफ टेनिस क्लबमै आगामी ‘ओसियाना’ टेनिस प्रतियोगिता पनि आयोजना हुने जानकारी दिइएको छ।
प्रवासमा रहेका नेपालीहरूबीच खेलकुदप्रतिको आकर्षण बढाउँदै प्रतिभा पहिचान, मित्रता र सामुदायिक एकतालाई थप मजबुत बनाउन प्रतियोगिता महत्त्वपूर्ण अवसर बनेको आयोजकको विश्वास छ।

आइतबार, ०६ मंसिर २०८३, १० : ५९

प्रतिक्रिया