बुढाथोकीको नेतृत्वमा निर्माण व्यवसायी महासंघ कोशीको पूरै प्यानल विजयी

आइतबार, ०६ मंसिर २०८३, १३ : ५३

काठमाडौं- निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न महासंघको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा प्रतिस्पर्धी कमलप्रसाद गौतमलाई १४० मतले पछि पार्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणामअनुसार बुढाथोकीले २७२ मत प्राप्त गर्दा गौतमले १३२ मत मात्रै पाए। अध्यक्षसहित सबै नौ पदाधिकारीमा बुढाथोकी नेतृत्वको समूहले जित हासिल गरेको छ।

निर्माण व्यवसायी संघ उदयपुरको कार्यसमिति सदस्यबाट संस्थागत यात्रा सुरु गरेका बुढाथोकीले जिल्ला संघको सचिव, कोशी प्रदेशको नीतिगत उपमहासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

निर्वाचनमा प्रथम उपाध्यक्षमा रमेश कार्की २४० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी लेखनाथ खत्रीले १५५ मत पाए। द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा २३३ मतसहित निर्वाचित हुँदा ऋषिकेश रिजालले १५६ मत प्राप्त गरे। त्यस्तै, तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेत २६२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी रमेश पौडेलले १३४ मत पाए।

महासचिवमा सन्तोषकुमार बस्नेतले सबैभन्दा बढी २८७ मत प्राप्त गर्दै जित निकाले। उनले प्रतिस्पर्धी दुर्गाबहादुर बुर्जा मगरलाई १७२ मतले पछि पारे। मगरले ११५ मत प्राप्त गरे।

उपमहासचिवमा लीलाप्रसाद गुरागाईं २४४ मत र चन्द्र पाठक २४० मतसहित निर्वाचित भए। त्यस्तै, कोषाध्यक्षमा किशोर भट्टराईले २४३ मत प्राप्त गर्दै जित हासिल गर्दा सहकोषाध्यक्षमा मनोजकुमार राई २३३ मतसहित विजयी भए।

आठ सदस्यका लागि भएको प्रतिस्पर्धामा लक्ष्मी श्रेष्ठले सर्वाधिक ३६१ मत प्राप्त गरिन्। उत्तमकुमार पौडेल ३५४, सुप्रिम राई ३४२, रणबहादुर कार्की ३०८, तिलकराज पोखरेल २८६, चन्द्रशेखर सुवेदी २६३, गणेशप्रसाद यादव २५४ र सन्तकुमार मेहता २५३ मतसहित सदस्यमा निर्वाचित भए।

सदस्यका उम्मेदवार अर्जुन शेर्पाले २४५ र गोपालबहादुर बस्नेतले २४३ मत प्राप्त गरे पनि पराजित भए। प्रमुख निर्वाचन आयुक्त मुकेशकुमार उपाध्यायले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अधिवेशनबाट नौ पदाधिकारी र आठ सदस्य गरी १७ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ।

आइतबार, ०६ मंसिर २०८३, १३ : ५३

प्रतिक्रिया