ठूला नै मान्दैनन् कानुन, सेतो प्लेटलाई रातो बनाएर दुरुपयोग

६ बर्ष अगाडि

काठमाडौं-  मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कर्मचारीले सेतो प्लेटका सरकारी गाडी चढ्नुपर्ने सरकारी नियम भए पनि उनीहरू नै नियमविपरीत सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी प्रयोग गर्ने क्रम अत्यधिक बढेको छ। अधिकांश मन्त्री सेतो प्लेटको गाडी चढ्न छाडेर रातो प्लेटमा हुइँकिने गरेका छन्।

गृह मन्त्रालयका अनुसार झन्डै ५ सय उच्चपदस्थले सरकारी नियम कुल्चँदै सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी दुरुपयोग गर्दै आएका छन्। सरकारले उपलब्ध गराएको रंगीन प्लेटको गाडी थन्क्याएर मन्त्रीहरू मन्त्रालयका गाडीलाई रातो प्लेट बनाउन लगाई हुइँकिने गरेका छन्।

सरकारी मापदण्ड उल्लंघन गर्नेमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव नै बढी छन्।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन तथा सवारी शाखाका अनुसार सरकारका प्राय: सबै सचिवले सेतो प्लेट हटाएर रातो प्लेट बनाउन लगाएका छन् भने केही सहसचिवले पनि रातो प्लेट भएको गाडी प्रयोग गरिरहेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ

उक्त शाखाका अनुसार अहिले पनि केही सचिव, सहसचिव र उच्चपदस्थसमेत झन्डै तीन दर्जनभन्दा बढीले आफूले प्रयोग गर्दै आएको सेतो प्लेटलाई रातो बनाउन माग गर्दै गृहमा निवेदन दिएका छन्।

सरकारी अधिकारीले सेतो प्लेटलाई रातो बनाउनुको भित्री उद्देश्य नै गाडीको चरम दुरुपयोग गर्नु हो। रातो प्लेट बनाएपछि गाडी व्यक्तिगत काममा बढी प्रयोग गर्न पाइने लोभमा सरकारी अधिकारी छन्। ‘रातो प्लेट राख्दा घरका लागि आवश्यक तरकारी, चामल बोक्न पाइने, केटाकेटी बोक्न पाइने र घुमघाममा लैजान पाइन्छ’, गृह मन्त्रालयका एक अधिकृतले  भने। ती अधिकृतले उच्चपदस्थले अनियमित डिलिङमा जाँदा कसैले थाहा नपाउन् भन्नका लागि रातो प्लेट बनाउन क्रियाशील भएका हुन्।

सचिव तथा संवैधानिक निकायका पदाधिकारीले गृह मन्त्रालयमार्फत यातायात व्यवस्था कार्यालयमा पत्र लेख्न लगाएर सेतो प्लेटलाई रातो बनाइरहेका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया