स्थानीयको श्रमदान बाट पदमार्ग निर्माण

४ बर्ष अगाडि

जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासीले ४५ दिन श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पुग्न स्थानीयवासीले श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन् ।

भीमाद नगरपालिकाले पदमार्ग निर्माणका लागि  पाँच लाख बजेट विनियोजन गरेकोमा स्थानीयवासीले श्रमदानमार्फत्  १५ लाखभन्दा बढीको काम गरेको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिए । आलेका अनुसार पदमार्ग निर्माणका लागि यहाँका ५० भन्दा बढी स्थानीयवासी दैनिक रुपमा खटिएका थिए ।

श्रमदानमा नआउने स्थानीयवासीलाई जरिवाना गरिएको आलेले जानकारी दिंए। दैनिक श्रमदानमा नआउनेलाई दिनको ५०० जरिवानाको निर्णय गरिएको थियो,आलेले भन्ने,श्रमदानमा नआउने केही स्थानीयवासीलाई जरिवाना पनि तिरायौं । पद्मार्ग निर्माणको क्रममा निर्माण सामग्री स्थानीयवासीले बोकेरै पुर्याएका थिए । झरनासम्म पुग्न मोटरमार्ग नरहेकोले निर्माणका सामग्री बोकेरै पुर्याइएको आलेले बताए ।

इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङसमेत हालिएको छ । ७७ मिटर भागमा ढुङ्गा छापेर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिए । पदमार्ग निर्माणका लागि स्थानीयवासीले श्रमदानमा खटिएर ठूलो सहयोग गरे, वडाध्यक्ष थापाले भन्ने ।  

उक्त झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६–७७ मा पनि  दश लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेञ्जिङ रुम निर्माण गर्ने तयारी थालिएको थापाले बताए ।

थापाका अनुसार झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालीम सञ्चालन गरिनेछ । झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ,उनले भन्ने,अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङ सम्बन्धी तालीम दिने सोचमा छौं। ४० मिटर अग्लो झरनामा गत मङ्सिर १६ गते सफल परीक्षण भएको थियो ।

झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास शुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो । यहाँका दश घरमा घरवास सञ्चालनमा छ । उक्त घरवासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् ।

स्वच्छ वातावरण,चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीयवासी दिलबहादुर थापाले बताए ।

थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्यादी नलागोस् भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ । उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ ।     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया