चक्रपथ निर्माणका लागि श्रमदान गर्दै मुख्यमन्त्री र मन्त्रीहरु

मंगलबार, ०१ पुस २०७६, १४ : ३२

सबैले श्रम गर्ने संस्कृति बसाल्न कर्णाली प्रदेशमा मुख्यमन्त्री सहित मन्त्रीहरु आफैं श्रमदानमा खटिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी लगायतको टोलीले कालिकोटको सदरमुकाम मान्ममा  चक्रपथ निर्माणका लागि श्रमदान गरेको हो ।  

श्रमको सम्मान गर्न प्रदेशमा श्रम दिवस मनाउने कार्यको थालनी गर्दै मुख्यमन्त्री शाहीले अभियान सफल बनाउन नागरिक तहदेखि प्रदेशका सबै पक्षलाई सहयोग गर्न आग्रह  गरे ।

‘कामका आधारमा ठूला र साना हुँदैनन् । सामन्तवादी संस्कृति अन्त्य गर्नुपर्छ,’ उनले भने ।

अभियानको शुरुवात गर्दै कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर विक, कालीकोट खाँडाचक्र नगरपालिकाका प्रमुख जैसीप्रसाद पाण्डे, लगायत नेपाली सेना, नेपाल प्रहरी र नागरिकले श्रमदान गरेका थिए ।

मंगलबार, ०१ पुस २०७६, १४ : ३२

प्रतिक्रिया