बालक अपहरण र हत्या प्रकरणः  किन बचाउन सकेन प्रहरीले ?

५ बर्ष अगाडि

काठमाडौँ – प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ । पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापेको छ । 
अपहरणकारीले आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेलगत्तै परिवारले प्रहरीलाई जानकारी गराएको थियो । निसानको डेराबाट उनको हत्या भएको ठाउँ केही किलोमिटर मात्रै टाढा पर्छ । बाक्लो बसोबास क्षेत्रमै लगेर निसानलाई लुकाए पनि फिरौती असुल्न नसकिने र घटना सार्वजनिक हुने डरले हत्या गरिएको प्रहरीको अनुमान छ । सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो ।

अदालतबाट अनुमति लिएर मात्रै फोन कल लोकेसन हेर्न मिल्ने प्रावधानविपरीत प्रहरीले आपतकालीन स्थिति भन्दै राति ११ नबज्दै अपहरणकारीको लोकेसन टेलिकम स्रोतबाट लिइसकेको थियो । अपहरणकारीको लोकेसन मध्यपुर थिमि देखिएलगत्तै प्रहरी टोली उक्त क्षेत्रमा परिचालित भएको थियो । समयमै परिचालित भए पनि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाबीच समन्वय हुन नसक्दा खोजतलास प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया