एउटै गाउँबाट चार सय टन अदुवा निर्यात

आइतबार, २० पुस २०७६, ११ : ३८

रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–६ बाट चार सय टन अदुवा निर्यात भएको छ। 

जिल्लामा अदुवा उत्पादन वृद्धि भएपछि यस वर्ष त्रिवेणी गाउँपालिका–६ बाट मात्रै चार सय टन अदुवा बिक्री भएको हो। 

स्थानीय कृषक शिवराम पुनका अनुसार व्यापारीले घरमै आएर अदुवा खरिद गर्ने गरेका छन्।

‘यस वर्ष मैले मात्रै ३७ क्विन्टल अदुवा उत्पादन गरेँ जसमध्ये २७ क्विन्टल बिक्री भइसक्यो’, उनले भने, ‘अर्को वर्षका लागि आवश्यक बीउको रूपमा १० क्विन्टल घरमा राखेको छुँ।’ २७ क्विन्टल अदुवा बिक्रीबाट उनले तीन लाख ७६ हजार रुपैयाँ आम्दानी गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष अदुवाबाट राम्रो आम्दानी भएको उनले बताए।

अर्का कृषक गोपाल ओलीले १८ क्विन्टल अदुवा बिक्री गरेर एक लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन्। अन्य व्यवसायभन्दा थोरै लगानीमा अदुवाबाट राम्रो आम्दानी हुने उनले बताए। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा दुई वर्ष काम गरेर फर्केका ओली पछिल्लो समय व्यावसायिक अदुवा खेतीमा लागेका हुन्। त्रिवेणी गाउँपालिकाका अधिकांश कृषकले हरेक वर्ष अदुवा उत्पादनबाटै लाखौं कमाउन थालेका हुन्।

जिल्लाको अन्य ठाउँभन्दा त्रिवेणी गाउँपालिकामा अदुवा राम्रो उत्पादन हुन्छ। प्रतिटन चार लाख ५० हजार रुपैयाँका दरले अदुवा बिक्री भइरहेको स्थानीय व्यापारी टेकबहादुर ओलीले बताए। उनका अनुसार यहाँ उत्पादन भएको अदुवा भैरहवा, नेपालगन्ज, सुर्खेत, काठमाडौं, चितवन, बिराटनगर, पोखरा, दाङलगायत जिल्लामा बिक्री हुने गरेको छ। व्यापारीले खरिद मूल्य भन्दा झन्डै तीन गुणा बढी मूल्यले अदुवा बेच्ने गरेका छन्।

अदुवाले राम्रो मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन्। प्रत्येक वर्ष यहाँका हरेक कृषकले अदुवा बिक्रीबाटै लाखौं कमाएर घरखर्च चलाउने गरेका छन्। त्रिवेणी गाउँपालिकाले समेत प्रमुख आयस्रोतका रूपमा अदुवालाई लिएको छ। अदुवा उत्पादन बढाउन स्थानीय सरकारले समेत विभिन्न कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले बताए।

‘कर्णाली प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा मसला उद्योग स्थापनाको काम सुरु भएको छ’ उनले भने, ‘किसानले उत्पादन गरेको अदुवाको बजार व्यवस्थापनका लागि स्थानीय सरकारले जोड दिनेछ।’

आइतबार, २० पुस २०७६, ११ : ३८

प्रतिक्रिया