नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।
पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले कुष्ठरोगीलाई समाजमा खुल्ला वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौति रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका क्षयकुष्ठ अधिकृत रेकबहादुर थापाले बताए ।
“कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेबाटै कुष्ठरोगी अपहेलित भइरहेको छन्,” उनले भने, “यसप्रति सकारात्मक सचेतना फैलाउन आवश्यक छ ।”
कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाई अन्यत्रैको स्वास्थ्य संस्थामा गएर औषधि सेवन गर्ने प्रचलन कायम रहेको उनले बताए ।
“नजिकको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय व्याप्त छ”, उनले भने, “त्यस्तो भयलाई हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।”
छ महिना र एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकाले कुष्ठरोगीलाई ठूलो रोगका रुपमा लिननहुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए ।
“खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म पु¥याउने वातावरण सिर्जना गर्नुपर्छ,” अधिकारीले भने । उनका अनुसार कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार तथा समुदायमा रोगका बारेमा सही जानकारी दिने र प्रचारप्रसार अभियान सञ्चालन गरिएको छ ।
प्रतिक्रिया