गाँजा खेतीबाट नेपालले ५० खर्ब कमाउन सक्ने, खेती गर्न पाउने कानून संसदमा

४ बर्ष अगाडि

राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने व्यवस्था सहितको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । 

सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले गैरसरकारी विधेयक दर्ता गरेका हुन् । 

विधेयकको मस्यौदामा  विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटर टाढाको दूरीमा गाँजा उत्पादनको क्षेत्र बनाउन सकिने उल्लेख छ । 

त्यस्तै विधेयकमा गाँजा उत्पादनका सीमा, प्रयोगका सर्तहरुसमेत उल्लेख भएकाले जथाभावी नहुने विधेयकका मस्यौदाकार तामाङले बताए ।

सांसद तामाङले गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा भएमा युवाहरु विदेसिनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने भएकोले विधेयक दर्ता गरिएको बताए । 

विश्व स्वास्थ्य संगठनले गाँजामा औषधीय गुण हुने भनेकोले यसको खेती गर्न सकेमा किसानको सँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने हुँदा नेपालमा  यसमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उनको भनाई छ। 

विधेयकमा नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने कुरा पनि उल्लेख छ । 

अमेरिका क्यानडालगायत विश्वका ४० मुलुकले गाँजामाथि एकपटक प्रतिवन्ध लगाएपनि अहिले प्रतिबन्ध फुकुवा गरिसकेका छन् । यो संगै विश्वका ६७ मुलुकमा अहिले गँजा खेती वैध छ । 

नेपालमा भने २०३३ साल देखि गाँजाखेतिमा प्रतिबन्ध लगाइएको छ । गाँजाखेती प्रतिन्धले गरिब तथा मध्यम वर्गीय किसान र मुलुकलाई वर्षेनी अर्बौं आम्दानी गुम्दै आएको पूर्वसचिव भिम उपाध्यायको तर्क छ । 

उपाध्यायका अनुसार अहिले नयाँ दिल्लीमा गाँजाको मूल्य प्रतिकेजी ८ लाख रुपैयाँ छ भने अमेरिकाको क्यालिफोर्नियाले गॉजाबाट वर्षेनी २२ अर्ब डलर कमाउछ। ‘नेपालमा गॉजा वैध भएमा वार्षिक रू ५०/६० खर्ब कमाउन सक्ने सोझो अनुमान छ’, उनले भने । 

गाँजालाई लागुऔषधबाट हटाएर औषधीजन्य वस्तुको सूचिमा राख्ने विषयमा संयुक्त राष्ट्रसंघमामा आगामी मार्च ७ मा भोटिङ हुँदैछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया