मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन

बुधबार, २१ फागुन २०७६, १८ : १४

भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको छ । सांसद महेश बस्नेतले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन । वाग्मती प्रदेश सरकारले घोषणा गरेको उक्त कार्यक्रम प्रदेशस्तरीय अस्पताल भक्तपुरमा शुरू भएपछि आज उद्घाटन गरेका हुन । 
    
सांसद बस्नेतले स्वास्थ्य नै मानिसको सबैभन्दा अमूल्य धन भएकाले नियमितरुपमा स्वास्थ्य परीक्षण गरी स्वास्थ्यप्रति सदैव सचेत रहनुपर्नेमा जोड दिए । उनले स्वस्थ समाजको निर्माण र जटिल रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए। अस्पतालले आफ्नो व्यवस्थापनलाई व्यवस्थित गरी आम नागरिकले उपचारको सहजता प्रदान गर्ने अस्पतालका रुपमा विकसित तथा परिस्कृत गर्न आवश्यकता रहेको उनले औँलए ।
    
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा अति गरिब, महिला, दलित र विपन्नलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ।। परीक्षण कार्यक्रम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको पहलमा शुरू गरेको हो ।
    
अस्पतालमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका वडाको सिफारिस लिएर आउने अति विपन्न, दलित, जनजाति, लोपोन्मुख, शहीद परिवारलगायत द्वन्द्व पीडित नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । आर्थिक स्थिति मध्यम भएकालाई २५ प्रतिशत छुटका साथ स्वास्थ्य परीक्षण गरिने छ । 
    
प्रदेश सांसद कृष्णलाल भँडेल, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बीना बास्तोला, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले जुन लक्ष्यले कार्यक्रम शुरु भएको त्यो लक्ष्य र उद्देश्य पूरा हुनुपर्नेमा जोड दिए । 
    
यो कार्यक्रमअन्तर्गत दुई हजार ४६६ जनालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य अस्पतालले लिएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष ०७५÷०७६ मा नमूनाका रूपमा पाँच जिल्लामा कार्यक्रम लागू गरेको थियो । कार्यक्रम प्रभावकारी देखिएपछि प्रदेश नं ३ का १३ वटै जिल्लामा लागू गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
 

बुधबार, २१ फागुन २०७६, १८ : १४

प्रतिक्रिया