राजधानीमा पनि गौरा पर्व मनाइँदै

५ बर्ष अगाडि

काठमाडौँ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । 

मध्य रातमा कृष्ण पक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गौरा एवं दुर्वाष्टमी पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउनुपर्छ । 

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको हो । 

गौरापूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ। 


देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्न नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।    


यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेँडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ ।

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने धार्मिक परम्परा पनि छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । 


देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । 


यो दिनमा सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्दछन् । यस पर्वको उपलक्ष्यमा प्रदेश नं ७ सरकारले आज प्रदेशभर बिदा दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया