कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ ।
कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ । कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।
हालसम्म विश्वका एक सय २६ देशमा फैलिएको कोरोना भाइरसबाट एक लाख ३४ हजार पाँच सय १९ जनामा सङ्क्रमण भएको छ ।
जसमध्ये झण्डै ६९ हजार जना निको भएर घर फर्किएका छन् । चार हजार ९ सय ७० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न विभिन्न देशले यात्रामा प्रतिबन्ध तथा कडाइ, नाकाबन्द, भिडभाड हुने सार्वजनिक कार्यक्रम लगायत रोकेका छन् ।
प्रतिक्रिया