पुरातात्विक महत्व जोगाएर सिंहदरबार पश्चिम भागको पुनर्निर्माण गरिने

५ बर्ष अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनर्निर्माण गर्ने बताउनु भएको छ ।
सोमबार सिंहदरबारको पश्चिम भागको निरीक्षणपछि कुरा गर्दै ज्ञवालीले भन्नुभयो–“पुरातात्विक महत्वका सम्पदाहरु जोगाएर पुनर्निर्माण गर्ने कुरालाई प्राधिकरणले प्राथमिकता दिएर काम गर्छ ।”
सिंहदरबारको पश्चिम भागलाई के गर्ने भन्नेबारे अध्ययन जारी रहेको छ । अध्ययन गर्ने जिम्मेवारी लिएको कन्सलट्यान्ट फर्मलाई शीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो– “प्रतिवेदन प्राप्त भएको अर्को हप्ता निर्णय गर्छौँ र सिंहदरबार पुनर्निर्माणलाई अघि बढाउँछौं ।”
भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भनेर स्पष्ट नभएकाले त्यसको अध्ययन गर्न इन्फ्रास्टक्चर इन्जिनियरिङ्ग रिसर्च एण्ड कन्सलट्यान्ट प्रा.लि.लाई जिम्मा दिइएको छ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ । 
सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको पालामा निर्मित सिंहदरबारको वि.सं. २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरियो ।
निरीक्षणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य धुव्र शर्मा, डा. हरिराम पराजुली, सहसचिव राजुमान मानन्धर लगायत हुनुहुुन्थ्यो ।  
सरकारले गत साउन २९ गते सुशील ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि उहाँले सिंहदरबारको पश्चिम भागको अध्ययन छिटो टुंग्याउन अध्ययनको जिम्मेवारी लिएको कम्पनीलाई निर्देशन दिनु भएको थियो । 
 
उत्तर, पूर्व र दक्षिण प्रबलीकरण जारी
वि.सं. २०३० मा आगलागीबाट नष्ट भई पछि पुनर्निर्माण भएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको भने प्रबलीकरण सुरु भइसकेको छ । 
शर्मा एण्ड न्यु टेक्निकल जेभीले प्रबलीकरण सुरु गरेको करिब तीन महिना भएको छ । २४ करोड रुपैयाँको लागतमा प्रबलीकरण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया