जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकमा स्थापना गरिएको फेमिली केयर अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ ।
काठमाडौँस्थित धुम्रबाराहीमा सञ्चालन हुँदै आएको अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो ।
पचास श्ययाको क्षमता रहने गरी स्थापना गर्न लागिएको अस्पतालमा आगामी वैशाख दोस्रो साताबाट पहिलो चरणअन्तर्गत १५ श्ययामा सञ्चालन गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष डा कृष्णकुमार राई ‘केके’ले बताए ।
“अस्पताल सञ्चालनका लागि भवन र आवश्यक उपकरण जडान गरिसकिएको छ”, उनले भने, “वैशाख दोस्रो साताबाट विशेषज्ञ चिकित्सकसहितको टोली ल्याएर सेवा शुरु गरिनेछ ।”
स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गर्न लागिएको अस्पतालमा आकस्मिक सेवा, हाडजोर्नी, दाँत, प्रसूति, बालरोग, जनरल सेवालगायत सबै किसिमको उपचार हुने जनाइएको छ । अस्पतालका लागि स्थानीय चन्द्रबहादुर केसी र उहाँकी श्रीमती सीता केसीले दुई रोपनी नौ आना तथा मगनबहादुर कार्कीले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएका छन ।
अधिकांश रोगको सोही अस्पतालमा र गम्भीर किसिमका बिरामीलाई काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्ने गरी खोटाङमा फेमिली केयर अस्पताल स्थापना गरिएको सञ्चालक समितिका अध्यक्ष डा केकेले बताए ।
“हामीले सरकारी अस्पतालसँग प्रतिस्पर्धा गर्न फेमिली केयर अस्पताल खोलेका होइनौँ”, उनले भने, “जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।”
आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेजसमेत सञ्चालन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फेमिली केयर अस्पतालका लागि अहिले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको सञ्चालक समितिले जनाएको छ ।
मेडिकल कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेबी राईले बताए ।
काठमाडौँमा कार्यरत चिकित्सक तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म रु पाँच करोडभन्दा बढी लगानी भइसकेको अस्पतालले जनाएको छ ।
खोटाङमा स्थानीयवासी मकरध्वज राईको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले भौतिक निर्माण, जग्गा व्यवस्थापन तथा शेयर सङ्कलनको काम गरिरहेको छ ।
जटिल किसिमका बिरामीको समेत जिल्लामै उपचार गर्ने गरी स्थापना गरिएको फेमिली केयर अस्पताल सञ्चालनमा आउने भएपछि जिल्लावासी हर्षित बनेका छन् ।
जिल्लावासीको आफ्नै शेयर लगानीमा शल्यक्रियासहितको उपचार हुने गरी स्थापना गरिएको सो अस्पताल सञ्चालनमा आउने भएपछि हर्षित भएका हुन् ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिले १५ श्ययाको एउटा सरकारी तथा दुई सामुदायिक अस्पताल सञ्चालनमा छ ।
जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई बाहिरी जिल्ला सिफारिश गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया