ललितपुरका ५० हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइँदै

आइतबार, ०२ चैत्र २०७६, ०८ : ०८

यहाँका  ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका  प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा  शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए । 
उनले भने, “नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा – रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ ।

 मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा  पाँचौँ कार्यक्रम हो ।” 
अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ शुरु गरिएको छ । 

वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पु¥याउन अनुरोध गरे । 

उनले भने, “मुलुकमा बढ्दै गएको कोरोनाको सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्को जिम्मेवारी थपिएको छ ।” 

गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाव दिए । 
 

आइतबार, ०२ चैत्र २०७६, ०८ : ०८

प्रतिक्रिया