यसकारण भारत र चीन जान लागे प्रचण्ड , निवासमा पत्रकार बोलाएर के–के भने ?

५ बर्ष अगाडि

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताएका छन् । 

आफ्नै निवास खुमलटारमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताए । 

“दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ ।” उनले भने, “अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालीका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।” अध्यक्ष दाहाल यही भदौ २१ गते भारत भ्रमणमा जान लागेका छन् । 


अध्यक्ष दाहालले पार्टी एकताको सम्पूर्ण काम यही भदौ मसान्तसम्म पूरा गर्ने अभियानमा लागेको बताए । 
तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलहरुले प्रतिवेदन बुझाई सकेको बताउँँदै अध्यक्ष दाहालले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुङ्गो लगाउने बताए । 
उनले भने “एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन्, ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरुको समेत व्यवस्थापन गर्ने गरी यसको टुङ्गो यही महिनाभित्र लगाइने छ ।” स्थानीय तहसम्मको पार्टी एकतापछि पार्टीले नयाँ गति लिनेसमेत उनको भनाइ छ । 


सरकारको भूमिकाबारे जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्नेमा जोड दिए । “जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुवैै अध्यक्ष गम्भीर छौं ।” 

अध्यक्ष दाहालले भने, “हाम्रो बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ । आम जनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढङ्गले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुनेछ ।” 

अध्यक्ष दाहालले समीक्षाबाट प्राप्त निष्कर्षलाई पार्टीभित्र समेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा ठोस कदम चालिनेसमेत बताए। 


पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष दाहालले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताए । 

अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त पनि गरे । 

५ बर्ष अगाडि

प्रतिक्रिया