चितवनको भरतपुर महानगरपालिकामा पनि कोरोना भाइरस परिक्षण प्रयोगशाला स्थापना हुने भएको छ । भरतपुर महानगरको विशेष पहलमा नमुना परिक्षण प्रयोगशाला (पिसिआर ल्याब) संञ्चालनमा आउने गरि काम सुरु गरिएको हो।
राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गर्न लागिएको प्रयोगशालाले भोलीबिहानबाट परिक्षण थाल्ने गरि काम अघि बढाईएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
महानगरको पहलमा बुधबार स्वास्थ्य मन्त्रालयको प्राबिधिक टोलि भरतपुर पुगेर स्थान छनौट गरेको थियो । शुक्रबार बिहानदेखि प्रयोगशालाको मेसिन राख्न शुरु गरिएकोमा शनिबार बिहान स्थापना गरिसक्ने महानगरले जनाएको छ ।
दाहालका अनुसार रामपुरबाट पिसिआर ल्याब र मन्त्रालयबाट एउटा बायोसेफ्टि क्याबिनेट झिकाईएको छ । एउटा क्याविनेट भने भरतपुरमै रहेको जनाइएको छ । परिक्षणका लागि दुईजना विज्ञ जिल्लामानै रहेको उनले बताइन् ।
‘बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडीकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला संञ्चालनमा ल्याईने छ’, उनले भनिन्, ‘उहाँहरुलाई आवश्यक पर्ने अन्य जनशक्ति यहि उपलव्ध हुने छ, मन्त्रालयले किट, रिएजेन्ट, आबश्यक रसायन सहितका अन्य सामानहरु आजै पठाउँदै छ । ’ प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा हुने गरि प्रयोगशाला संञ्चालनमा आउने छ ।
भरतपुर महानगरपालिकाले पहलमा भरतपुर कोरोना बिषेश (अस्थाई) अस्पताल सञ्चालन गरेको छ । अहिले कोरोना विशेष अस्पताल, भरतपुर अस्पताल र नीजि मेडीकल कलेजहरुबाट दिनहुँ जसो कोरोनाको आशंकामा बिरामीको नमुना केन्द्रिय प्रयोगशालामा पठाईदै आएको छ ।
दैनिक गाडीको प्रयोग गरेर पठाउनु पर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आए पछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले बताइन् ।
भरतपुरमा स्थापना भएपछि नेपालमा कोरोना परिक्षण प्रयोगशालाको संख्या ११ पुगेको छ ।
प्रतिक्रिया