भारत कानपुर आलु गोदाममा काम गर्ने केही नेपाली मजदूर त्यहाँको सोनवर्षा बजार आइपुगेको र लुकीछिपी नेपाल प्रवेश गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरी निगरानी बढाइएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार सर्लाही जिल्ला मलङ्गवा नगरपालिकाका १८५ भारतको कानपुरको आलु गोदाममा काम गर्ने मजदूर आज बिहान सीमा क्षेत्रको भारतीय बजार सोनवर्षा आई पुगेको सूचना पाएका आधारमा सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी प्रदेश नं २ को १०९ वटै नाकाबाट मानिसको आवागमन पूर्णरूपले बन्द गरिए पनि लुकीछिपी नेपाल आउने क्रम नरोकिएकाले सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको उहाँले जानकारी दिए।
सचिव घिमिरेले हिजो चैत २७ गते बिहीबार भारतको कानपुरबाट नै भारतीय नाका सोनवर्षाबाट नेपाल प्रवेश गर्न खोज्ने ४० जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिई सीतामढीस्थित सोनवर्षा क्वारेन्टाइनमा राखेको बताए । सो क्वारेन्टाइनमा ४५ नेपाली नागरिकलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
प्रतिक्रिया