कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई शिलबन्दी गरिएको छ ।
सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न सीमा नाका शिल गरेको हो ।
संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनका गरेपनि भारतबाट नेपाल छिर्नेहरु नरोकिएपछि सीमानाकालाई पूरै शिल गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाले बताए ।
उनका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ । भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सशस्त्र प्रहरीले सीमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ ।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि मुख्य त्रिनगर र खक्रौला नाका बन्द भएकाले लुकीछिपी अन्य खुला नाकाबाट आवतजावत हुन सक्ने भन्दै सीमानाका शिल गरेर सुरक्षा दिइरहेको उनले बताए । सशस्त्र प्रहरीले सरकारले गरेको लकडाउनदेखि नै त्रिनगर र खक्रौला नाकाबाहेक भारतसँग जोडिएका खुला सीमानाकामा सुरक्षासँगै निगरानी गर्दै आइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।
सशस्त्र प्रहरीले सीमित साधन स्रोतका बाबजुत सीमा क्षेत्रमा २४सै घण्टा सर्वसाधारणको आवागमनमा पूर्णरुपमा रोक लगाएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशभर ४३ वटा सीमा सुरक्षा जाँचचौकी रहेका छन् । सशस्त्र प्रहरीले दक्षिण र पश्चिममा ५५० किलोमिटर सीमानाकामा सुरक्षा गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया