वाग्मती सफाइ महाअभियानको ३६१औँ हप्ता

शनिबार, २९ चैत्र २०७६, २२ : ५१

वाग्मती सफाइ महाअभियानका ३६१औँ हप्तामा दुई स्थानमा केही मानिस जम्मा भएर सफाइ गरिएको छ । वाग्मती किनारमै घर भएका दुई जना अभियानकर्मीको नेतृत्वमा पशुपतिको राजराजेश्वरी र शङ्खमूलमा नदी सफाइ गरिएको हो ।
     
राजराजेश्वरीमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेल र शङ्खमूलमा अभियानकर्मी लक्ष्मी पौडेलको नेतृत्वमा नदी सफाइलाई बन्दाबन्दीका बाबजुद निरन्तरता दिइएको हो । 
 
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । शुरुदेखि चाड पर्व, जाडो, गर्मी, शीत, वर्षा जस्तोसुकै अवस्थामा पनि जारी अभियान चैत १५ गते पहिलोपटक बन्दाबन्दीका कारण हुन सकेको थिएन । 
 
बन्दाबन्दी लामो समय जाने भएपछि चैत २२ गते पनि खरेल एक्लैले तिलगङ्गाको नदी किनारमा एक्लै अभियानलाई जारी राखिएको थियो । आज दुवैतिर गरी १५ जना सफाइ अभियानमा सहभागी भएका थिए ।
 
सहभागीले एकअर्काका बीच तीन मिटरभन्दा बढी दूरी राखी सुरक्षाका उपाय अपनाएर सफाइ अभियानलाई निरन्तरता दिएको जनाइएको छ । वाग्मतीका सहायक नदी र चक्रपथका विभिन्न स्थानमा गरिने सफाइ अभियान भने बन्दाबन्दीका कारण हुन नसकेको जनाइएको छ ।
 

शनिबार, २९ चैत्र २०७६, २२ : ५१

प्रतिक्रिया