सरकारले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमानामा सुरक्षाका लागि खटाउने भएको छ ।
कोरोना भाइरसको संक्रमणको त्रास भइरहेको बेला भारतबाट लुकिछिपी मानिसहरु आएको जानकारी पछि सरकारले नेपाल विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका प्रहरी र सशस्त्र प्रहरीलाई बोलाएर सीमानामा पठाउने भएको हो ।
त्यसका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिइसकेका छन् ।
जसअनुसार सशस्त्र प्रहरी बलले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालिसकेको स्रोतले बतायो । नेपाल प्रहरीले पनि आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।
हाल कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपय विशिष्ट व्यक्तिले मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्यविधि विपरित सुरक्षाकर्मी राखेका छन् । उनीहरुको हकमा मन्त्रिपरिषदबाटै निर्णय गरेर कटौती गरिने बादलले बताएका छन् ।
‘आवश्यकता मूल्यांकन गरेर जति सक्दो कटौती गरेर सीमामा पठाउनुस्’, बादलले दुवै सुरक्षा संगठनका प्रमुखलाई भनेका छन् ।
पहाडी क्षेत्रका सुरक्षाकर्मीलाई पनि सीमा खटाउन निर्देशन
बादलले पहाडी तथा हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई पनि सीमामा खटाउन निर्देशन दिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले बताए ।
उनका अनुसार अत्यावस्यक बाहेकका सुरक्षाकर्मीलाई सीमामा परिचालन गर्न भन्दै गृहसचिव महेश्वर न्यौपानेमार्फत बादलले सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया