कोरोना कहर: लकडाउनमा मन्दिर जान नपाएकाहरु बेलनाको पूजा गर्दै

मंगलबार, ०२ बैशाख २०७७, ०९ : ५७

कोभिड–१९ का कारण नेपाल लकडाउन भएको तीन हप्ता पुग्न लागेको समयमा प्रदेश नं २ का मठमन्दिर सुनसान भएको छ ।

 प्रदेशका जानकी मन्दिर, जलेश्वर महादेवसहितका मठमन्दिर होलीपर्वबाट नै सुनसान रहँदै आएका छन् । अहिले मठमन्दिरको पूजापाठ पुजारीबाहेक अरुको पहुँचभन्दा बाहिर छ । 

यस क्षेत्रमा लकडाउन शुरु भएसँगै कोरोनाबाट सुरक्षित हुन नयाँनयाँ अभ्यास शुरु गर्न थालिएको छ । 

अहिले रोटी बनाउन प्रयोग गर्ने काठको चकलामा काठकै बेलना ठड्याएर घरघरमा पूजा हुन थालेको छ । 

यसरी पूजा गर्दा कोरोना भाइरसबाट जोगिने विश्वास यस क्षेत्रका बासिन्दामा रहेको जलेश्वर महादेव मन्दिर नजिक घर भएका दिलीप चौधरीले बताए ।

चकलामा बेलना राखेर चारैतिर चामल अथवा आँटाको घेरा राखेर ठाडो पारेर पूजा गर्नेहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ । यो पूजा एकदेखि दुईदिनसम्म रहने गर्छ । 

चकलामा बेलना ठड्याएर कसैले महारानी त कसैले महादेव भनेर पूजा गर्ने गरेका छन् । 

तीन हप्तादेखि मन्दिरमा जान नपाएपछि घरमै पूजा गर्ने र कोभिड–१९ को डरबाट केही क्षण मुक्त हुने माध्यम यो अफवाह बनेको योगसाधक नवल यादवको भनाइ छ । 

यस क्षेत्रका बासिन्दाले भगवान् भन्दै पूजापाठ गर्ने विषय भने नौलो रहेको यादवले जिकिर गरे । 

यस विषयमा मटिहानी मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णवसँग बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिए । स्थानीयवासीका अनुसार यो पूजापाठको कुरा लहान हुँदै जलेश्वर आइपुगेको हो । 

महोत्तरी जिल्लाकै अन्य ठाउँमा यस्तो किसिमको चमत्कार वा पूजापाठको कुनै चर्चा नरहेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले बताए । 

केही दिन अगाडि यस क्षेत्रका मानिसले कपुर, ल्वाङ, अलैँची, हिङसहितको सामग्रीको पोको बनाई घाँटीमा अथवा हातमा बाँधेका थिए ।

 लकडाउनको बेला कोरोना भाइरसबाट जोगिने अफवाहका कारण नयाँनयाँ अभ्यास भइरहेका छन् ।

मंगलबार, ०२ बैशाख २०७७, ०९ : ५७

प्रतिक्रिया