कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको जानकारी दिए । प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ ।
मङ्गलबारसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ । यही पद्धतिबाट नमूना सङ्कलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना सङ्क्रमितका पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ ।
यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना सङ्कलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरी लगेको थियो ।
प्रतिक्रिया