कोरोना प्रभावित क्षेत्रको कर्जाको भुक्तानी गर्ने अवधी बढाइयो, कुन क्षेत्रको कति अवधी थप ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रमा कर्जाको ग्रेस अवधी थप गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले हालै एकीकृत निर्देशन जारी गर्दै कोरोनाले पारेको प्रभाव आधारमा ६ महिनादेखि २ बर्षको सम्मको ग्रेस अवधी बढाइने व्यवस्था गरेको हो । 

ग्रेस अवधि भनेको कर्जा प्रवाह शुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न शुरु हुने मितिको अवधी हो । सामान्यतया एक वर्षभन्दा बढी ग्रेस अवधि राखी आवधिक कर्जा प्रदान गर्न पाइने छैन । तर, कोरोना भाइरसले पारेको असरलाई दृष्टिगत गर्दै हाललाई यस्तो व्यवस्था गरिएको हो । 

कोरोनाको कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न÷संचालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन÷संचालनमा आउन लाग्ने थप समय यकिन गरी
ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्ममा ग्रेस अवधी थप गरिदिनुपर्ने बताइएको छ ।

कोरोनाबाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना तथा न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ६ महिनासम्मका लागि ग्रेस अवधि थप गर्न सकिने व्यवस्था गरिएको हो ।  तर, सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । 

यसरी ग्रेस अवधि थप गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले कार्यविधि बनाई संचालक समितिबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ र ग्रेस अवधि थप गरिएका कर्जाहरुको मासिक विवरण यस बैंकमा पेश
गर्नु पर्ने राष्ट्र बैंकको भनाइ छ । 

यसरी थप भएको ग्रेस अवधिको ब्याजलाई पुँजीकरण नगरी ग्रेस अवधि भित्र कम्तीमा ३ किस्तामा भुक्तानी हुने गरी असुलीको व्यवस्था गर्नु पर्नेछ र तोकिएको तालिकाबमोजिम भुक्तानी गर्ने ऋणीसँग कुनै किसिमको पेनाल ब्याज÷ शुल्क÷हर्जाना÷ब्याजको ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया