गुल्मीमा पीसीआर प्रयोगशाला स्थापना, मन्त्री ज्ञवालीद्वारा उद्घाटन

३ बर्ष अगाडि

कोरोना भाइरसको परीक्षणका लागि गुल्मीमा गर्ने पीसीआर प्रयोगशाला स्थापना गरिएको छ । रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा स्थापना गरिएको प्रयोगशाला परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बिहीबार उदघाटन गरे । 

ल्याव स्थापनाका लागि मन्त्री ज्ञवालीकै पहलमा हिमालयन एयरलाइन्सले पीसीआर मेसिन र स्वास्थ्य मन्त्रालयमार्फत  बायोसेफ्टी क्याविनेट उपलब्ध भएको थियो भने अन्य मेसिनरी उपकरण जिल्लाका १२ वटै स्थानीय तहहरुले व्यहोर्ने गरी रेसुङ्गा नगरपालिकाले समन्वय गरेर खरिद गरेको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले जिल्लाका नागरिकको लागि धेरै महत्वपूर्ण काम सुरु भएको बताए। अझै पनि कोरोना संक्रमण बढ्दै गएको र विभिन्न परिस्थितिले सबै क्षेत्र खुल्ला गरिएकाले प्रयोगशालाको आवश्यकता झन् बढेको बताए। ‘‘लामो समयको लकडाउन खुला गरिएसँगै परीक्षणको महत्व थप बढेको छ,’ उनले भने, ‘अब हप्तौं रिर्पोट कुर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ उनले अबको अवस्थामा हरेक व्यक्ति आफैं सचेत भएर स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु पर्ने र हरेक नागरिक स्वास्थ्य सिपाही बनेर सहजीकरण गर्नु जरुरी रहेको बताए ।

दैनिक जनजीवनसँगै देशको अर्थतन्त्र तहसनहस भैरहेका बेला अव नागरिक आफै सचेत बन्ने, सरकारले परिक्षणलाई सर्भसुलभ र छिटोछरितो बनाउनुपर्नेमा ज्ञवालीले जोड दिए । 

स्थापनाको लागि समन्वय गरेको रेसुङ्गाले तयार गरेको प्रयोगशाला संचालन कार्यविधी  शुक्रबार बस्ने जिल्ला विपद् व्यावस्थापन समितिले अनुमोदन र ११ सदस्यीय समितिको अनुमोदन गरेपछि जिल्ला अस्पतालले परीक्षणका लागि प्रकृया अघि बढाउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए । 

अहिले प्रयोगशाला सञ्चलनका लागि अहिले प्रादेशिक प्रयोगशालाका लक्ष्मण पन्थी र गुल्मी अस्पतालका केपी भण्डारी गरी दुई जना प्राबिधिक छन् भने अन्य १५ जना करारमा भर्ना गर्नका लागि विज्ञापन गरीएको छ । 

अन्य प्राविधिक भर्नापछि असोज ७ गतेबाट नियमित स्वाब संकलन र परिक्षण गरिने रेसुङ्गा नगरपालिकाले जनाएको छ । 

प्रयोगशाला सञ्चालन गर्न तत्कालका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले ल्याब टेक्निसियनसहित दुई प्राविधिक उपलब्ध गराएको छ । 

प्रयोगशाला अभावमा अहिले जिल्लाका स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्याउने गरिएको छ। प्रयोगशालामा स्वाबको चाप बढी हुँदा कन्ट्रयाक्ट ट्रेसिङका स्वाबको परीक्षण रिर्पोट आउन १५ दिन लाग्ने गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया