नेपाल आयल निगम झन्डै १३ अर्ब नाफामा

सोमबार, १३ पुस २०७७, ११ : ४०

काठमाडौं, नेपाल आयल निगमले एक वर्षको अवधिमा झन्डै १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले पछिल्लो एक वर्षमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो ।

कोरोनाभाइरसको महामारीमा इन्धन खपत कम हुँदा पनि निगमले यति धेरै नाफा कमाउन सफल भएको छ । गत वर्षदेखि मोतिहारी अमलेखगन्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानीले पनि निगमको नाफा बढाएको हो ।

 आर्थिक वर्ष २०७६/७७ मा  निगमले १२ अर्ब ८७ करोड नाफा कमाएको बताएको छ ।  अघिल्लो आव (२०७५/७६) मा निगमले कुल ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । 

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गरे पनि सो अनुपातमा मूल्य समायोजन नगर्दा निरन्तर नाफा कमाउँदै आएको छ । पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको छ तर निगमले भने सीमावर्ती भारतीय बजारको मूल्यलाई देखाएर स्थानीय बजारमा मूल्य घटाएको छैन ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले प्रतिकूल अवस्था रहे पनि गत एक वर्षमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको बताए । “इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट चार अर्ब बढी नाफा कमाउन सफल भएका हौं,” कार्यकारी निर्देशक पौडेलले भने, “१० महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत हुँदा नाफा बढ्न गएको हो ।” साथै गत वर्षको नाफा रकम ब्याजमा लगाएर १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको उनको भनाई छ । अघिल्लो वर्ष भएको नाफा रकम निगमले विभिन्न वाणिज्य बैंकमा राखेको थियो । नाफा रकम पूर्वाधार विकासमा खर्च गरिने उनले बताए । निगमले पहिलो पटक नेपाल फाइनेनसियल रिपोर्ट स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार वासलात तयार गरेको छ ।


निगमले आर्थिक वर्ष २०७५/७५ मा २९ करोड रहेको चुक्ता पुँजीलाई १० अर्ब पुँजी वृद्धि गरेर ११ अर्ब पु¥याएको थियो । आर्थिक वर्ष ०७५र७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने निगमले जानकारी दिएको छ । निगममा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको सेयर छ ।

गत वर्ष निगमले इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बझुाएको छ । दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो । विश्वभर फैलिएको कारोनाभाइरसको प्रभावले इन्धनको आयातमा समेत कमी भएको हो । सरकारलाई सवै भन्दा धेरै राजस्व बुझाउनेमा निगम अग्रस्थानमा रहेको छ ।

निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा शुल्क उठाउदै आएको छ । सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा ४ अर्ब ९९ करोड रुपैयाँ शुल्क उठाएको छ । यस्तै प्रदूषण करबाट २ अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा गरेको छ ।

सोमबार, १३ पुस २०७७, ११ : ४०

प्रतिक्रिया