कोरोना बीमामा साढे २ अर्ब दावी भुक्तानी, १० अर्बको दावी पर्ने अनुमान

३ बर्ष अगाडि

काठमाडौं – कोरोना बीमामा हालसम्म रु. २ अर्ब ४६ करोड २७ लाख ७५ हजार भन्दा बढी भुक्तानी भएको छ । बीमा समितिको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 
पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमा बापत दावी भुक्तानी लिएको बीमा समितिको भनाइ छ । यस्तै, १८३ ओटा आवदेन भने दावीका लागि योग्य नभएको पनि देखिएको छ । 
पहिला कोरोना बीमामा दावी भुक्तानी ढिला भयो भने निकै आलोचना भएको थियो । तर, पछिल्लो समय भने कोरोना बीमाको दावी भुक्तानी फास्ट ट्रयाकमा हुने गरेको छ ।
सबै निर्जीवन बीमा कम्पनीहरुले पुल मार्फत यो कारोबार गर्दै आएको हुनाले हाल नेपाल बीमक संघ र शिखर इन्स्योरेन्सले यसको दावीको कार्य गर्दै आएका छन । त्यसमा हालसम्म ५१ हजार ७१७ ओटा आवेदनको पुरा कागजपत्र आएको छ । त्यसमध्ये यतिका मात्रामा दावी भुक्तानी भएको हो । 
यस्तै, संघले १४ हजार १६५ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणको लागि स्वास्थ्य मन्त्रालयको इडीसीडीमा पठाएको छ । त्यसमा ६ हजार १२५ ओटा प्रमाणिकरण भइसकेको छ भने ८ हजार ४० ओटा पेन्डिङमा रहेको छ । 
यस्तै, थप ७४७ आवेदन मन्त्रालयमा पठाउनका लागि तयार पारिएको छ । यस्तै, कागजपत्र पुरा नभएपछि २ हजार ७२१ आवेदन बीमा कम्पनीहरुलाई नै फिर्ता पठाइएको छ । यसका अलावा १० हजार ९७४ आवेदन बीमक संघको भेरिफीकेशन प्रक्रियामा रहेका छन ।
पछिल्लो समय दावी आवेदन पनि बढ्दै गएको छ । हालसम्म ५१ हजार भन्दा बढी आवेदन आएको हुनाले रकमका आधारमा करिब ५ अर्ब रुपैयाँको दावी परिसकेको छ । समग्रमा कोरोना बीममा १० अर्ब रुपैयाँको हारहारीमा दावी पर्ने अनुमान बीमा कम्पनीहरुको रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया