सरकारका कोरा नाराले जनता वाक्क दिक्क– प्रदीप पौडेल

५ बर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको कोरा नाराका कारण आम जनता वाक्क दिक्क भइसकेको बताएका छन् । जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारले हावादारी गफ मात्र गरिरहेको आरोप लगाएका हुन् । “प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्, तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन ” पौडेलले भने । दुई तिहाईको सरकारबाट जनताले धेरै आशा गरेपनि प्रधानमन्त्री स्वयंको त्यस्ता हावादारी गफका कारण जनता निराश भएको पौडेलको भनाइ थियो । “चिल्ला मिठा गफ गर्दै प्रधानमन्त्री ओलीले गरीब निमुखा जनताको भोट तान्ने काइदा मात्र गर्नुभयो, के हाम्रा क्रान्तिकारी प्रधानमन्त्री ओलीको योग्यता यति मात्र हो रु ”  पौडेलको प्रश्न थियो । असुरक्षा, महंगी, फितलो प्रशासन, जर्जर भौतिक पूर्वाधारका कारण नेपालीहरुको दैनिकी कष्टकर हुँदा समेत सरकार मूकदर्शक हुनु राष्ट्रिय लज्जा भएको उनले बताए । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिए अनुसार कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै पौडेलले सरकारको सही काममा कांग्रेसको साथ रहने प्रतिबद्धता व्यक्त गरे । आम कांग्रेसी सुधारिएको कांग्रेसको पक्षमा रहेको भन्दै पौडेलले त्यसका लागि आफूहरु निरन्तर क्रियाशिल रहिरहेको बताए । लगानीमैत्री वातावरण भएमा विदेशीका नेपालीहरु स्वदेशमै फर्कन तयार रहेकाले त्यस्तो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । मुलुुकको अन्तर्राष्ट्रिय नीति प्रष्ट नभएकाले सार्वभौमसत्ता नै जोखिममा पर्ने खतरा बढेको उनले बताए । प्रवासी नेपालीहरु माझ समेत अत्यन्त लोकप्रिय पौडेल नेविसंघका पूर्व अध्यक्ष समेत हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया