काठमाडौं - सिभिल बैंक लिमिटेडले विभिन्न एजेन्डा सहितको प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न भएको छ । बैंकले आफ्नो दसौं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट आज सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८५ का दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.७१ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि प्रतिसेयर ०।४२५ का दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२.८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षण गर्नको लागि एन.बि.एस.एम.एण्ड एशोसियट्स लाई लेखा परिक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरिएको पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया