भारतको सीमासँग पुग्ने ११ सहायक सडक निर्माण कार्य सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं - हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । 

भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक सम्पन्न हुन लागेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । 

हुलाकी राजमार्गबाट भारतको सीमा क्षेत्रसम्म पुग्ने सडक निर्माणको काम भइरहेको निर्देशनालयले जनाएको छ । यी सडकमध्ये कतिपयको लम्बाई १८/१९ किमीदेखि २७ किमीसम्म रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । 

यी सबै सडकको गरी जम्मा लम्बाई ८८२ किमी छ । उनका अनुसार कतिपय जिल्लामा एउटा मात्रै त कतिपय जिल्लामा दुई तीन वटासम्म यी सडक रहेका छन् । सरकारले आर्थिक वर्ष २०७९÷८० मा राजमार्गसँगै यी सडक सम्पन्न गर्ने लक्ष्य लिएको छ । उनले भने, “त्यही लक्ष्यका साथ निर्माणको काम भइरहेको छ ।”

हुलाकी राजमार्गबाट शुरु भएर सडक महेन्द्र राजमार्ग हुँदै भारतीय सीमासम्म रहेको छ । भारतीय अनुदानमा १० सहायक सडक निर्माण भइरहेकामा नौ सडक सम्पन्न हुन लागेको छ भने एउटा निर्माणाधीन रहेको प्रमुख बिसुरालले जानकारी दिए । 

नेपाल सरकारको बजेटबाट निर्माण हुने भनिएको २८ सडकमध्ये दुई सम्पन्न भइसकेको र २६ निर्माणाधीन रहेको छन् । उनले भने, “सरकारले वार्षिकरुपमा विनियोजन गरेको बजेटबाट निर्माणको काम भइरहेको छ ।”

राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको छ । सडक निर्माण सम्पन्न भएपछि तराई–मधेशका जनताको जनजीवन सहज हुने अपेक्षा गरिएको छ । 

सरकारले मध्यपहाडी राजमार्गसँगै यो राजमार्गको निर्माण आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण गत आवमा आयोजनाअन्तर्गतका सडक निर्माण सुस्त थियो । 

चालू आवमा भने अपेक्षा गरिएअनुसार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया