जनसंख्या भन्दा बैंक खाता धेरै, कति छ बैंकहरूमा बचत खाता ?

विहीबार, २७ फागुन २०७७, १४ : १०

काठमाडौं – नेपालको कुल जनसंख्या भन्दा बैंकमा बचत खाता खोल्नेको संख्या बढि रहेको छ । नेपालको कुल जनसंख्या ३ करोड ६३४ रहेको छ ।

तर, बैंकहरूमा बचत खाता भने ३ करोड ४६ लाख ७१ हजार ९४९ पुगेको छ । जनसंख्या भन्दा बढि बैंक खाता खोल्नेको संख्या भए पनि अहिले सम्म सबै नेपाली जनताले बैंक खाता खोल्न भने सकेका छैनन् । 
 नेपाल राष्ट्र बैंकको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । हालसम्म वाणिज्य बैंकमा २ करोड ९७ लाख ६७ हजार ६५१ जनाले खाता खोलेका छन् । 

त्यस्तै विकास बैंकमा ४२ लाख ८ हजार ५४२ जनाले खाता खोलेका छन् भने वित्तिय संस्थामा खाता खोल्नेको संख्या ६ लाख ९५ हजार ७५६ पुगेको छ । विशेषगरि एउटै व्यक्तिले धेरै बैंक खाता खोल्दा यस्तो देखिएको छ ।

हाल नेपालमा वाणिज्य २७, विकास बैंक १९ र वित्तिय संस्था २० गरि जम्मा नेपालमा ६६ वटा बैंकका शाखाहरू रहेको छ । जसमा वाणिज्य बैंकका ४ हजार ६३७, विकास बैंकका एक हजार ६५ र वित्तिय संस्था २५६ गरी जम्मा ५ हजार ९५८ ब्रान्च रहेको छ । 

साथै अहिले सम्म कर्जा खाता खोल्नेको संख्या भने १६ लाख एक हजार ९५८ पुगेको छ । जसमा वाणिज्य बैङ्कमा १२ लाख ४५ लाख २७१, विकास बैंकमा ३ लाख ११ हजार १४७ र वित्तिय संस्थामा ५४ हजार ५३९ रहेको छ । 

बचत खाताको संख्या करोडौँ पुग्दा कर्जा खाताको संख्या भने १६ लाखको हाराहारीमा रहेको छ । यसले कर्जामा आफ्नो ग्राहकको सहज पहुँच विस्तार नभएको देखिन्छ । 

यस्तै, मोबाइल बैंकिङ सेवा लिनेको संख्या अहिले सम्म १ करोड २६ लाख ८९ हजार ४४५ रहेको छ । त्यसमा वाणिज्य बैंक मार्फत मोबाइल बैंकिङ सेवा लिनेको संख्या १ करोड १३ लाख ५४ हजार ९५ विकास बैंक मार्फत १२ लाख १९ हजार ५६३ र वित्तिय संस्था मार्फत १ लाख १५ हजार ७८७ रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै अहिले सम्म नेपालमा इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या १० लाख ९० हजार ३२२ रहेको छ । जसमा वाणिज्य बैंक मार्फत एक लाख ५६ हजार ३४०, विकास बैंक मार्फत २७ हजार १२१ र वित्तिय संस्था मार्फत ६ हजार ८६१ रहेको छ । 

हाल सम्म नेपालमा जम्मा ४ हजार २५४ एटिएम शाखा रहेको छ । जसमा वाणिज्य बैंकको ३ हजार ८९१, विकास बैंकको ३१० र वित्तिय संस्थाको ५३ वटा रहेको छ । 

साथै अहिले सम्म वाणिज्य बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या ७७ लाख २३ हजार ६१९ रहेको छ । विकास बैंकका २ लाख ८४ हजार ५२४ र वित्तिय संस्थाको ४० हजार ९१६ गरी जम्मा ८० लाख ४९ हजार ५९ रहेको छ । 

त्यस्तै क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ता भने वाणिज्य बैंक मार्फतका मात्र रहेका छन् । नेपालमा हाल सम्म क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १७ लाख ६१ हजार ४१४ रहेका छन् भने प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या ५५ हजार ६१७ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

विहीबार, २७ फागुन २०७७, १४ : १०

प्रतिक्रिया