प्रदेश नं. २ मा एउटा बैंकको भागमा कति जनता ?

शुक्रबार, २८ फागुन २०७७, १९ : ०४

काठमाडौं-  प्रदेश नम्बरमा एक बैंक तथा वित्तिय संस्थाले साढे ९ हजार भन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने तथ्यांकले जनाएको छ ।  हाल ६२ लाख ५६ हजार १६६ जनसंख्या रहेका प्रदेशमा विभिन्न बैंक तथा वित्तिय संस्थाका ६ सय ४७ शाखा रहेका छन् । ती शाखाहरुले प्रदेशमा रहेको कुल जनख्याको हिसाबले प्रति बैंक तथा वित्तिय संस्थाले ९ हजार ६ सय ६९ सेवाग्राहीलाई सेवा दिनुपर्ने नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

प्रदेश २ का ८ जिल्लामध्ये रौतहट जिल्लामा रहेका बैंक र सेवाग्राहीको अनुपात सबैभन्दा धेरै छ । रौतहटमा  ५६ वाणिज्य बैंक, ९ विकास बैंक र १ अन्य वित्तिय संस्था गरी कुल ६६ बैंक तथा वित्तिय संस्था छन् भने ८ लाख ४४ हजार ६५९ कुल जनसंख्या रहेको छ । बैंक तथा वित्तिय संस्थाका शाखा र जनसंख्याको अनुपात हेर्दा प्रति शाखा १२ हजार ७९८ जनता पर्दछन् । 

यस्तै, सप्तरी जिल्लामा प्रति शाखा ११ हजार ४७६ सेवाग्राहीले सेवा लिन्छन् ।  सप्तरीमा ४७ वाणिज्य बैंक, ७ विकास बैंक र ८ अन्य वित्तिय संस्था गरी कुल ६२ शाखा छन् भने ७ लाख ११ हजार ४८९ जना सेवाग्राही छन् । 

त्यस्तै, ८ लाख ९५ हजार ८८ जनसंख्या रहेको सर्लाही जिल्लामा ६९ वाणिज्य बैंक, १३ विकास बैंक र ३ अन्य वित्तिय संस्था गरी ८५ बैंक तथा वित्तिय शाखा छन् । कुल जनसंख्याको हिसाबले  एक बैंक बराबर  १० हजार ५४० जनताले सेवा लिन्छन् । 

५९ वाणिज्य बैंक, ७ विकास बैंक र ४ अन्य गरी ७० बैंक तथा वित्तिय संस्था रहेको महोत्तरी जिल्लामा एक बैंकको भागमा १० हजार १४८ जनता पर्ने आउँछन् । हाल जिल्लामा कुल ७ लाख १० हजार ३४१ जनसंख्या रहेको छ । 

कुल ८१ बैंक तथा वित्तिय संस्था रहेको पर्सा जिल्लामा एक बैंकले ८ हजार ८४२ सेवाग्राही सेवा दिनुपर्ने तथ्यांकले देखाएको छ । चालु आवको सात महिनासम्म जिल्ला ६७ वाणिज्य बैंक, १० विकास बैंक र ४ अन्य वित्तिय संस्था रहेका छन् । हाल पर्सा जिल्लाको कुल जनसंख्या ७ लाख १६ हजार २०६ रहेको छ । 

यसैगरी, १३ वाणिज्य बैंक, ५ विकास बैंक र ५ अन्य गरी ९४ बैंक तथा वित्तिय संस्था रहेको बारा जिल्लामा एक बैंक तथा वित्तिय संस्था बराबर ८ हजार ८३४ जना परेका छन् ।

धनुषा जिल्लामा एक बैंक तथा वित्तिय संस्थाको भागमा ८ हजार ७८० जना परेका छन् । हाल जिल्लामा ८१ वाणिज्य बैंक, ८ विकास बैंक र ७ अन्य गरी ९६ बैंक तथा वित्तिय संस्था छन् । 

सिराहा जिल्लामा हाल ८० वाणिज्य बैंक, ११ विकास बैंक र २ अन्य गरी ९३ बैंक तथा वित्तिय संस्था रहेका छन् । हाल जिल्लामा एक बैंक तथा वित्तिय संस्थाको भागमा ७ हजार ५७३ जना परेका छन् ।

शुक्रबार, २८ फागुन २०७७, १९ : ०४

प्रतिक्रिया