फागुनमा कुन बैंकले कति निक्षेप संकलन गरे ? हेर्नुहोस् प्रगति

बुधबार, ०४ चैत्र २०७७, १९ : ५९

गएको फागुन महिनामा सानिमा बैंकले सबैभन्दा धेरै निक्षेप सङ्कलनमा प्रगति गरेको छ । २७ वाणिज्य बैंकमध्ये सानिमाले अघिल्लो महिनाको तुलनामा निक्षेपमा ५.९१ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २० अर्ब ९२ करोड रुपैयाँ पुर्‍याएको छ । 

नेपाल बैङ्कर्स संघको तथ्यांक अनुसार सानिमाले गरेको निक्षेपको वृद्धि २७ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो । निक्षेप संकलन वृद्धि गर्नेमध्ये दोश्रोमा सेन्चुरी बैंक छ । जसले फागुन मसान्तमा ४.८२ प्रतिशतले वृद्धि गरेर ८७ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । माघ मसान्तसम्म उसको निक्षेप ८३ अर्ब ८८ करोड रुपैयाँ थियो । 

त्यस्तै निक्षेप वृद्धि गर्ने वाणिज्य बैंकको सूचीमा तेश्रो नम्बरमा सनराइज बैंक परेको छ ।  माघ मसान्तमा ९८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ४.५५ प्रतिशतले वृद्धि गरेर १ खर्ब २ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ । 

बैङ्कर्स एसोसिएसनका अनुसार फागुन महिनामा २७ वाणिज्य बैंकले निक्षेप सङ्कलनमा १.०५ प्रतिशतले वृद्धि गरेका छन् । माघ मसान्तमा ३७ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा फागुन मसान्तसम्म गरेर बैंकहरूले ३८ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ पुर्‍याका हुन् । 

यो अवधिमा एनआईसी एशिया बैंकले आफ्नो निक्षेपमा ४.३८ प्रतिशतले वृद्धि गर्दै २ खर्ब ८७ अर्ब ३७ करोड सिभिल बैंकले ३.७६ प्रतिशतले वृद्धि गरेर ८१ अर्ब २० करोड, माछापुच्छ्रे बैंकले निक्षेप सङ्कलनमा २.६४ प्रतिशतले वृद्धि गरेर १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ पुर्‍याएका छन् । 

त्यस्तै नेपाल बंगलादेश बैंकले  २.५७ प्रतिशत, सिद्धार्थ बैंकले २.५७ प्रतिशत, प्राइम बैंकले २.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले, एनसीसी बैंकले ०.९९ प्रतिशत, बैंक अफ काठमाण्डुले  ०.९४ प्रतिशत, सिटिजन्स बैंकले ०.८४ प्रतिशत, मेगा बैंकले  ०.३८ प्रतिशत, लक्ष्मी बैंकले ०.३६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले  ०.३३ प्रतिशत, प्रभु बैंकले ०.२६ प्रतिशत, एनएमबी बैंकले  ०.२६ प्रतिशत र नेपाल बैंकले ०.०४ प्रतिशतले निक्षेप वृद्धि गरेका छन् । 

बुधबार, ०४ चैत्र २०७७, १९ : ५९

प्रतिक्रिया