सिभिल लघुवित्तको साधारण सभा आज, लाभांश कति ?

विहीबार, ०५ चैत्र २०७७, ०९ : ४१

काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज हुँदै छ । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा आज हुने भएको हो । 

सभा आज बिहान ११ बजेबाट बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडौँमा हुँदै छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र ०.१८  प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । यसका साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने बताइएको छ । 

साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिने पनि कम्पनीले जनाएको छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २० गते एक दिन बुक क्लोज गरेको थियो । त्यसैले, फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

विहीबार, ०५ चैत्र २०७७, ०९ : ४१

प्रतिक्रिया