काठमाडौं– नेपाल बंगलादेश बैंक सँग नबिल बैंकको मर्ज हल्ला चले पछि बिहीबार सेयर मूल्य प्रभावित भएको छ ।
बिहिबार नेपाल बङ्गलादेशको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।
बुधबार प्रतिकित्ता ३१८ रुपैयाँ मूल्यमा रहेकोमा बिहीबार ९ दशमलब ७५ प्रतिशतले बढेर ३४९ रुपैयाँसम्म कारोबार भयो ।
सेयर लगानीकर्ता पिताम्बर खरेलका अनुसार नबिलसँग मर्जको हल्लाका कारण नेपाल बंगलादेश बैंकको मूल्य केही बेर उचालिएको हो। ‘मर्जका लागि कुरा चलेका समाचार बाहिरिए, जसले गर्दा यो बैंकको यस दिन बजारमा धेरै चर्चा चल्यो’ उनले भने ।
नबिल बैंकसँग बेलाबेलामा विभिन्न बैंकको मर्ज हल्ला चल्ने गरेको छ। यसअघि एनसिसी, सिद्धार्थ र मेगा बैंकसँग पनि मर्जको हल्ला चल्दा ती कम्पनीको मूल्य प्रभावित भएको थियो।
सिद्धार्थ र एनसिसी दुवै बैंकले हल्लामा कुनै सत्यता नरहेको भनी प्रष्टिकरण दिएपछि सेयर मूल्य सामान्य अवस्थामा फर्किएको थियो।
मर्ज हुँदा थोरै मूल्य भएका कम्पनीका सेयरधनीलाई केही फाइदा हुने गरेका तथ्य विगतमा देखिँदै आएको छ। ग्लोबल आइएमइमा साविकको जनता बैंक गाभिँदा पनि यो तथ्य पुष्टि भएको छ।
यद्यपि दुई बैंकबीच मर्ज हुँदा स्वाप रेसियो कति निर्धारण हुन्छ भन्ने कुरा महत्वपूर्ण हो। अर्कोसँग गाभिने बैंकले राम्रै मूल्य पाउने गरेका उदाहरण छन्। यसले गर्दा गाभिने बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्ने गरेको हो।
नबिल बैंकले उपयुक्त पार्टनर भेटिएमा मर्जका लागि बाटो खुला गरेको छ।
नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएकालाई मर्जका लागि दवाव दिएको छ। अर्थात् एकाघर परिवार वा संस्थाको निश्चित लगानी भएका बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वीजिसनका लागि बाध्य पारिने व्यवस्था मौद्रिक नीतिमा छ। यो व्यवस्थाअनुरुप नबिलले कुनै वाणिज्य बैंकलाई मर्ज गर्नैपर्ने बाध्यता छैन।
हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भने पारिवारिक सम्बन्ध पनि भएकाले मर्जका लागि दुवै बैंक सहमति नजिक पुगेका छन्।
प्रतिक्रिया