काठमाडौं– अब प्रिपेड कार्डबाट कारोबार गर्नेहरूले अधिकतम ५ सय अमेरिकी डलरसम्मको कारोबार गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्रबैङ्कले अनलाइनमार्फत विदेशी वस्तु वा सेवाको खरिद गर्ने प्रयोजनका लागि ५ सय अमेरिकी डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सकिने ब्यवस्था गरेको हो ।
‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ बर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूले प्रिपेड कार्ड जारी गर्न पाउँछन् ।
राष्ट्रबैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब ती बैंकहरूले विदेशी मुद्राको कारोबार गर्न प्रिपेड कार्ड लिने ग्राहकका लागि ५ सय अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको कारोबार गर्ने गरि प्रिपेड कार्ड जारी गर्न सक्नेछन् ।
पछिल्लो समयमा विज्ञापनहरू फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा युट्युब, गुगल लगायत अन्य सूचना प्रविधिको माध्यमबाट गरिने प्रचलन बढ्दै गएको छ । यसको भुक्तानी अनलाइनबाट विदेशी मुद्रामा हुन्छ । डिजिटल हुन्डीले प्रश्रय पाउन सक्ने भन्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गर्न लागेको हो ।
विदेशबाट विभिन्न सेवाहरू खरिद गरेबापत स– साना प्रकृतिका रकम सहजताका साथ भुक्तानी गर्नसक्ने व्यवस्था नहुँदा पुँजी पलायन हुनसक्ने, हुण्डिले पश्रय पाउन सक्ने तथा राज्यले कर गुमाउनुका साथै छाया अर्थतन्त्र मौलाउन सक्ने जोखिम देखिएको बैंकको निष्कर्ष छ । हालसम्म प्रिपेड कार्ड राष्ट्र बैंकको प्रस्तावित व्यवस्था हो । सम्बन्धित सरोकारवालासँग राय, सल्लाह र कार्यान्वयनमा जाने राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया