आज दुई कम्पनीको वार्षिक साधारण सभा, एक कम्पनीका शेयरधनीको हात खाली

सोमबार, ०९ चैत्र २०७७, ०९ : ००

काठमाडौं - आज दुई कम्पनीको वार्षिक साधारण सभा हुँदै छ । सिन्धु विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुने भएको हो । 

सिन्धु विकास बैंकको एघारौँ वार्षिक साधारण सभा आज आगन्तुक रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान १०:३० बजेबाट सुरु हुँदै छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । त्यसैले बैंकका शेयरधनीहरूको हात खाली हुने बैंकको छ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७र७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि फागुन २८ गते, शुक्रबार एक दिन बुक क्लोज गरेको थियो । त्यसैले, फागुन २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

साथै शिखर इन्स्योरेन्सको पन्ध्रौँ तथा सोर्हौँ वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुँदै छ ।

कम्पनीले सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

यसका साथै, आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २९.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

तर, यस आर्थिक वर्षमा इन्स्योरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातको चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएको हो ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २६ गतेदेखि बुक क्लोज गरेको छ । त्यसैले, फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोमबार, ०९ चैत्र २०७७, ०९ : ००

प्रतिक्रिया